राज्यले कानुनी शासनलाई मजबुत बनाएको भए पनि अदालती प्रक्रियामा पुगेका अपराध घटनाका पीडितले आफूहरूले न्याय पाए नपाएको अझै पनि थाहा पाउन नसकेको म्याग्दी जिल्ला अदालतका श्रेस्तेदार खिलप्रसाद बुर्लाकोटीले बताउनु भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) म्याग्दीको आयोजनामा पुस ६ गते बेनीमा सम्पन्न मानव अधिकार वर्ष पुस्तक २०२० पूर्व समीक्षा कार्यक्रममा श्रेस्तेदार बुर्लाकोटीले अदालतबाट फैसला भएको र पीडितलाई क्षतिपूर्ति दिलाउन आदेश गरिएको भए पनि उनीहरूले थाहा नपाएको बताउनुभयो । ‘पीडितलाई क्षतिपूर्ति दिलाउने फैसलामा उनीहरूले जानकारी नपाउँदा क्षतिपूर्ति पाउनबाटै वञ्चित हुनुपर्ने अवस्था विद्यमान छ’ बुर्लाकोटीले भन्नु भयो । नेपाल मानव अधिकार वर्ष पुस्तकमा पीडितले न्याय पाए नपाएको बारेमा समेत खोजबिन गर्न श्रेस्तेदार बुर्लाकोटीले अनुरोध गर्नु भयो ।
प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले म्याग्दीमा मात्रै कारागारमा कैदी बन्दीको समस्या नभई देशै भर यस्तो समस्या रहेको बताउनुभयो । उहाँले भन्नुभयो हाल देशमा ११ हजार क्षमताको बन्दीगृह वा कारागार रहेको तर २२ हजार भन्दा बढी कैदी बन्दी रहेकाले समस्या भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी महेन्द्र मरासिनीले जिल्ला प्रहरी कार्यालयले कुनै पनि घटनामा मिलापत्र नगर्ने बताउँदै उजुरी नै नपरेको घटनामा पनि प्रहरीले जानकारी पाउना साथ कानुनी प्रकृयामा ल्याइएको बताउनु भयो ।
बेनी नगरपालिकाकी उपमेयर सञ्जु बरुवालले बेनी नगरपालिकाको न्यायिक समितिमा अहिले सम्म ४५ उजुरी आएको र त्यसमा सबै भन्दा बढी घरेलु हिंसाका आउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो विद्यालयको पहुँचमा बालबालिका किन पुगेनन् भन्ने मात्रै हामीले भन्दै गरेका छौँ तर किन कारण खोजिएन ? उमेयर बरुवालले भन्नुभयो इन्सेकको वर्ष पुस्तकमा तथ्यहरू हुँदैगर्दा पनि कारणलाई समेट् आवश्यक छ ।
नागरिक समाजका संयोजक सुदर्शनकुमार श्रेष्ठले मानव अधिकार वर्ष पुस्तकमा महिला हिंसा मात्र नभएर पुरुष हिंसाका घटनाहरू पनि समेट्न आग्रह गर्नुभएको थियो । कार्यक्रममा इन्सेक म्याग्दी जिल्ला प्रतिनिधि अमृत बास्कुनेले इन्सेकले सन् २०१९ मा मानव अधिकार उल्लंघन र ज्यादतीका ३३ वटा घटनाहरू अभिलेख गरेको तथ्याङ्क पेश गर्नुभएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष तारानाथ शर्मा, महिला मानवअधिकार रक्षक सञ्जालकी सभापति रेखा कौशल रेग्मी, मानवअधिकार तथा शान्ति समाजका सभापति नवराज शर्मा, नेपाल बार एसोसियसन म्याग्दी जिल्ला अदालतका अध्यक्ष चिरञ्जीवि शर्मा, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्य, गैरसरकारी संस्था महासंघका अध्यक्ष दिपक पौडेल, नेपाल बाल संगठनका अध्यक्ष नेत्र महत, म्याग्दी साहित्य समाजका अध्यक्ष ध्रुवलाल शर्मालगायतले मन्तव्य राख्नु भएको थियो ।





