डिसीएको आर्थिक सहयोगमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनगढी कार्यालयको आयोजनामा स्थानीय तथा प्रदेश तहका जनप्रतिनिधिहरूको क्षमता अभिबृद्धिमा सहयोग कार्यक्रम अन्तर्गत, न्यायिक समितिका सदस्यहरूका लागि समुदायिक मध्यस्थता तथा मेलमिलाप सीप विषयक दुई दिने तालिम असार १८ गतेबाट धनगढीमा सुरू गरिएको छ ।

स्थानीय तहमा रहेका न्यायिक समितिका सदस्यहरूको क्षमता अभिवृद्धि गर्ने, जनतालाई सुलभ र सरल तरिकाले सेवा प्रदान गर्ने र मानव अधिकार सङ्घ सस्थाहरूसँग समन्वय गर्न सहयोग पुर्याउने उद्धेश्यले तालिमको आयोजना गरेको इन्सेक धनगढी कार्यालयका संयोजक खडकराज जोशीले जानकारी गराउँदै असार १९ गतेसम्म सञ्चालन गरिने तालिममा देवानी तथा फौजदारी न्यायसंहिता, सामुदायिक मध्यस्थता तथा मेलमिलाप सीप, स्थानीय तहमा न्यायिक समितिको न्याय सम्पादन विधि र न्याय सम्पादन विधिमा अभ्यास गर्ने विषयमा तालिम दिइने बताए ।
तालिममा सहभागी गौरीगङ्गा नगरपालिकाका न्यायिक समितिका सदस्य अमृता बिकले आफूहरूलाई न्याय सम्पादन गर्ने कानुनी प्रक्रियाको बारेमा धेरै जानकारी नभएकोले व्यवहारिकताको हिसावले स्थानीय तहमा मुद्दाको मेलमिलाप गर्दै आएको बताइन ।

उनले घरेलु हिंसा, महिला हिंसा, बाहुविवाह र साँध सिमानासँग सम्बन्धित मुद्दा आउने गरेकोले तालिम मेलमिलाप सीप तथा कानुनी प्रक्रियासँग सम्वन्धित भएकोले अगामी दिनमा न्याय निरूपण गर्न सहज हुने बताइन् ।
न्यायिक समितिका सदस्यहरूलाई क्षेत्राधिकारको बारेमा नै जानकारी नभएकाले न्यायिक समितिको कार्यमा धेरै जटिलता भएको बताउँदै बलौरी नगरपालिका न्यायिक समितिका सदस्य नेत्रराज गिरीले क्षमता अभिबृद्धि गर्ने यस्ता तालिमले अगामी दिनमा कार्यसम्पादनमा सहयोग पुग्ने आशा लिएर तालिममा सहभागी भएको बताए ।
तालिममा अछाम, कञ्चनपुर र कैलाली जिल्लाका पाँच ओटा स्थानीय तहका १७ जना न्यायिक समितिका सदस्यहरूको सहभागिता रहेको छ ।
रविना चौधरी