आर्थिक अवस्था कमजोर भएकी १६ वर्षीया बलात्कार पीडित बालिकालाई न्यायिक प्रक्रियामा जानका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०८३ असार ९ गते १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ । अदालती प्रक्रियामा जान समस्या भएपछि पीडित परिवारले इन्सेक धनुषा प्रतिनिधि सन्तोष कुमार यादवसमक्ष असार ९ गते आर्थिक सहयोगका लागि निवेदन दिएका थिए ।
प्रादेशिक अस्पताल जनकपुरधाम अन्तर्गतको एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) ले समेत सहयोगका लागि असार ९ गते मधेस प्रदेश कार्यालयमा पत्र पठाएको थियो । सोही निवेदन र पत्रका आधारमा जेठ ९ गते ओसीएमसीमै पुगेर उक्त रकम हस्तान्तरण गरिएको इन्सेक प्रदेश संयोजक राजु पासवानले बताउनु भयो ।
क्षिरेश्वरनाथ नगरपालिका–९ का ३९ वर्षीय उदय भन्ने जयराम महतोले वैशाख ४ गते बालिकालाई बलात्कार गरेका आरोपमा पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । प्रहरीले आरोपित महतोलाई वैशाख ४ गते गिरफ्तार गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण वैशाख ५ गते प्रादेशिक अस्पतालमा भयो । धनुषा जिल्ला अदालतको जेठ ५ गतेको इजलासले आरोपितलाई पूर्पक्षका लागि सिन्धुली कारागार पठाएको प्रहरीले जानकारी दिएको छ ।