कोशी प्रदेशको सन् २०२६ को पहिलो ६ महिनामा मानव अधिकारको अवस्थाका विषयमा सरोकारवालाबिच छलफल गरिएको छ ।
इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरले ०८३ असार २९ गते धनकुटामा सार्वजनिक गरेको कोशी प्रदेशको ६ महिनाको मानव अधिकार अवस्था तथ्याङ्कमाथि सरकारका प्रतिनिधि, नागरिक समाजलगायत सरोकारवालाबिच छलफल गरिएको हो ।
छलफलमा कोशी प्रदेशमा सन् २०२६ को पहिलो ६ महिनाको अवधिमा मानवअधिकार उल्लङ्घनका घटना निरन्तर भइरहेको र कारागारमा क्षमताभन्दा धेरै कैदीबन्दी राखिएको अवस्थाले आधारभूत मानव अधिकारको संरक्षण र सम्वद्र्धन हुन नसकेको विषयमा चर्चा गरिएको छ ।

‘कोशी प्रदेशमा मानव अधिकारको अवस्था’ विषयक कार्यक्रममा इन्सेक कोशी प्रदेश कार्यालयका संयोजक मनोहरकुमार पोखरेलले इन्सेकले सन् २०२६ को पहिलो ६ महिनामा अभिलेख गरेका घटनाको तथ्याङ्क सार्वजनिक गर्नु भयो । इन्सेकको तथ्याङ्कमाथि सरोकारवालाबिच छलफल भएको थियो ।
इन्सेकले सार्वजनिक तथ्याङ्कमा कोशी प्रदेशमा पछिल्लो ६ महिनामा कारागारमा क्षमताभन्दा धेरै कैदीबन्दी राखिएको विषय चुनौतीपूर्ण र गम्भीर भएको छलफलले निष्कर्ष निकालेको छ ।
कोशी प्रदेशमा सन २०२६ को ६ महिनाको अवधिमा ३ सय ३१ जना मानव अधिकार उल्लंघनका घटनामा पीडित भएको तथ्याङ्क सार्वजनिक गरिएको छ ।
कोशी प्रदेशको मानव अधिकार अवस्था विषय छलफल कार्यक्रममा संयोजक पोख्रेलले महिला अधिकार सम्बन्धी ६१ वटा, बाल अधिकार सम्बन्धी १ सय ११ वटा र नागरिक अधिकार सम्बन्धी १ सय ५९ वटा मानवअधिकार उल्लंघनका घटना भएको जानकारी दिनुभयो । देशभरमा १६ हजार ९ सय ५६ जनाको क्षमता रहेका कारागार रहेकोमा २५ हजार ९२ जना कैदी बन्दी रहेको कार्यक्रममा जानकारी दिइएको थियो ।
यस्तै देशभरका कारागारबाट ३ हजार ८ सय ३ जना कैदीबन्दी फरार रहेको तथ्यांक रहेको छ । सन २०२५ मा कोशी प्रदेशमा मा १ हजार ४ सय ८९ जना पीडित भएका छन ।
कार्यक्रममा बोल्दै कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री उमाकान्त गौतमले मानव अधिकार उल्लघनका घटनामा कम गराउन कार्यक्रममा सहभागी सबैको भूमिका उत्तिकै रहने बताउनु भयो । उहाँले जानी वा नजानी गरेको घटनामा सबैलाई बराबर कानुन लाग्ने भएकाले सबैले कानुनको बारेमा जानकारी राख्नुपर्ने बताउनु भयो ।
मानव अधिकार एलायन्सको २७ औं स्थापना दिवसको अवसरमा आयोजित कोशी प्रदेशमा मानव अधिकारको अवस्था बिषयक अन्तरक्रिया कार्यक्रममा मानव अधिकार एलायन्सका केन्द्रिय अध्यक्ष बिदुर सुवेदीले पछिल्लो समयमा मानव अधिकार हनन्का घटना बढ्न थालेकाले नागरिक पनि सचेत हुनुपर्ने बताउनु भयो ।
सो कार्यक्रममा जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङ, धनकुटाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, गैरसरकारी संस्था महासंघ धनकुटाका अध्यक्ष मीन सुवेदी लगायतले मानव अधिकार हनन हुन नदिन राज्य र नागरिक दुबैको उत्तिकै भुमिका हुने बताउनु भयो ।
मानव अधिकार एलायन्सका कोशी प्रदेश अध्यक्ष निलबहादुर थापाको सभापतित्वमा भएको सो कार्यक्रममा मानव अधिकार एलायन्स धनकुटा सचिव खेम थापाले स्वागत गर्नुभएको थियो ।