नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० का लागि सङ्कलन गरिएका घटनाहरूको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा असार १४ गते सदरमुकाम खाँदबारीमा सम्पन्न भएको छ ।
इन्सेक जिल्ला प्रतिनिधि बाबुराम बास्तोलाले नेपाल मानव अधिकार वर्ष पुस्तकमा समावेश गरिने मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना समेटिएको प्रतिवेदन सार्वजनिक गरेका छन् ।
प्रतिवेदन अनुसार विगत पाँच महिनामा १७ ओटा मानव अधिकार हनन् तथा ज्यादतीका घटना समावेश गरिएको छ ।
प्रतिवेदनका अनुसार पाँच महिनाको अवधिमा जिल्लामा सात बालिकालाई यौन दुर्व्यवहार भएको छ भने तीन महिलालाई बलात्कार र एक महिलालाई बलात्कारको प्रयास भएको छ ।
यो अवधिमा चार जनाको हत्या भएको छ भने एक जनालाई हत्या प्रयास भएको छ । अभिलेख अनुसार बेचबिखनको एउटा घटना भएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले इन्सेकले प्रकाशित गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तकले मानव अधिकार प्रवर्धनमा सहयोग पुगेको बताए ।
सबै पक्षको समान सहभागिताले मात्रै मानव अधिकार प्रवर्धन हुने उल्लेख गर्दै प्रमुख शाक्यले इन्सेकलाई वर्ष पुस्तकको क्षेत्र बढाउन सुझाव दिए ।
जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका इन्स्पेक्टर रामेश्वर पण्डितले इन्सेकले प्रकाशन गर्ने वर्ष पुस्तक एउटा दस्तावेजको रूपमा रहने हुँदा घटनाहरू प्रकाशन गर्दा सतहमा रहेर नभई अनुसन्धान गरी प्रकाशन गर्नुपर्ने सुझाव दिए ।
नेपाल पत्रकार महासङ्घ सङ्खुवासभा शाखाका अध्यक्ष इन्द्र गिरीले इन्सेकले घटनाहरूको अभिलेख राख्ने भएकाले तुलनात्मक अध्ययन गर्न सहज भएको बताए ।
उनले इन्सेकले नियमित प्रकाशन गर्ने नेपाल मानव अधिकार वर्ष पुस्तकको निरन्तर प्रयास र खबरदारीले मानव अधिकारको क्षेत्रमा समाजको प्रष्ट चित्रण गरेको बताउँदै बदलिदो परिस्थिति अनुसार इन्सेक अगाडि बढ्नुपर्ने बताए ।


बाबुराम बास्तोला