अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० का लागि सङ्कलित घटनाहरूको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम असार १२ गते सल्लेरीमा सम्पन्न गरेको छ ।
सन् २०१९ को जनवरी १ देखि जुन २६ सम्मका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनालाई अभिलेख गरी इन्सेकले सार्वजनिक गरेको हो ।
६ महिनाको अवधिमा जिल्लामा महिला तथा बाल अधिकार अन्तर्गतका पाँच ओटा बलात्कार, एउटा गाली बेइज्जती, राजनीतिक अधिकार अन्र्तगत राज्य पक्षबाट एउटा गिरफ्तारी र आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार अन्र्तगत भौतिक संरचनामा क्षति भएको एउटा घटनालाई इन्सेक जिल्ला प्रतिनिधिले सार्वजनिक गरेका छन् ।
समीक्षा कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले जिल्लामा मानव अधिकार हनन्का घटनामा न्यूनीकरणका लागि लागि सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्ने बताए ।
सरकारले गरेको कार्यले मात्रै मानव अधिकार हनन् नभई अन्य पक्षबाट पनि भएका गतिविधिलाई मानव अधिकारको क्षेत्रमा काम गर्ने निकायले ध्यान दिनुपर्नेमा जोड दिए ।
प्रजिअ रानाले न्यायिक समितिमा पनि मानव अधिकारसँग सम्बन्धित मुद्दा आउने भएकाले त्यसलाई समेत इन्सेकले अभिलेखीकरण गर्नु पर्नेमा जोड दिए ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डिएसपी शालिग्राम शर्माले स्थानीय तहमा भएका घटनालाई अभिलेखीकरण गर्दै त्यसको न्यूनीकरणमा समेत ध्यान दिनुपर्ने सुझाव दिए । उनले प्रहरी सदैव मानव अधिकार रक्षाको लागि सक्रिय रहेको बताए ।
नेपाल मानव अधिकार सङ्गठन सोलुखुम्बुका उपसभापति हिमाल गिरीले जिल्लामा कृयाशिल मानव अधिकार सङ्घसंस्थाहरूले एकअर्कामा समन्वय गरेर मानव शिक्षासम्बन्धी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
महिला मानव अधिकार रक्षक सञ्जाल सोलुखुम्बुकी अध्यक्ष टङ्कीमाया बस्नेतले महिलामाथि हुने ज्यादतीका घटना न्यूनीकरण हुन नसकेको प्रति सबै अधिकारकर्मी गम्भीर हुनुपर्ने बताइन् ।
गैरसरकारी संस्था महासङ्घ सोलुखुम्बुका अध्यक्ष दीपक राजभण्डारीले मानव अधिकारवादी संस्था र सामाजिक न्यायको निम्ति काम गर्ने अन्य सामाजिक संस्थाबीच सहकार्य गरेर गाउँगाउँमा मानव अधिकार सचेतना कार्यक्रम सञ्चालन गर्न सुझाव दिए ।


भोजराज कार्की