इन्सेक कपिलवस्तुको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तकका लागि सङ्कलित घटनाहरूको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा असार १० गते तौलिहवामा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले इन्सेकले हरेक वर्ष नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन गरी पीडितको न्याय र गल्ती गर्नेहरूलाई खबरदारी गरेको बताए ।

इन्सेकले वर्ष पुस्तकमा शिक्षा, स्वास्थ्य र खाद्य अधिकार र मौलिक हकका सवालमा प्रतिवेदन उल्लेख गरेको भएपनि मौलिकहकहरू अझै कार्यान्वयन हुन नसकेको बताए ।
उनले वैदेशिक रोजगारीमा जाँदा बेचबिखनमा पर्ने गरेको उल्लेख गर्दै सिमा नाकाहरूमा कडाई गर्नु पर्ने बताए ।
सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालले इन्सेकले बेलाबेलामा विभिन्न कार्यक्रममार्फत राज्यका निकायलाई सचेत बनाउँदै आएकोले राज्यका निकाय जबाफदेही बन्न वर्ष पुस्तक सहयोगी रहेको बताए ।

नेपाल प्रहरीका एसपी दिपशम्सेर राणाले विभिन्न अपराधिक गतिविधि बढिरहेकोले नागरिक समाजले पनि प्रहरीलाई सहयोग गर्नुपर्ने बताए ।
सशस्त्र प्रहरीका एसपी दिपक अधिकारीले मानव अधिकारप्रति प्रहरी सधैँ सचेत रहेको भन्दै राज्यका निकाय, प्रहरी, कर्मचारीका कमजोरी भए जानकारी दिन आग्रह गरे ।
शिक्षा समन्वय एकाईका प्रमुख थानेश्वर घिमिरेले शिक्षामा सबैभन्दा धेरै समस्या रहेकोले नीतिगत तहबाट सुधार गर्नु पर्ने बताए ।
गैरसरकारी संस्था महासङ्घका अध्यक्ष प्रविण श्रीवास्तवले इन्सेकको प्रतिवेदनमा महिला हिंसाका घटना बढेको देखिएकोले बनेका कानुन राज्यका निकायले कार्यान्वय गरे महिला हिंसामा कमी आउने बताए ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष डिलाराम भुसालले इन्सेकले घटना सार्वजनिक गर्नुको साथै आफूले गरेका कामले कतिले न्याय पाए भन्ने कुरा पनि प्रतिवेदनमा उल्लेख गर्न सुझाए ।
यसैगरी मधेश मानव अधिकार गृहका अध्यक्ष रवि ठाकुरले कतिपय स्थानीय तहले लक्षित वर्गको बजेट नछु्याइएको र दुरूपयोग गरेको विषयमा छानविन गरी प्रतिवेदनमा राख्नु पर्ने सुझाव दिए ।
पिआरसि नेपालका संयोजक भुमिराज भट्टराईले सिमाक्षेत्रमा मानव बेचबिखनका घटना बढेको भए पनि प्रहरीले आफैँ निगरानी गर्नु पर्नेमा संस्थाहरूले समातेर प्रहरीमा बुझाएका घटना समेत दर्ता नगरेको आरोप लगाए ।
मानव अधिकार निगरानी समूहकी संयोजक पुष्पा रेग्मीले यातायातमा महिलाले पाउने सुविधा नपाएको विषय पनि समेटनु पर्ने बताइन् ।
अधिकारकर्मी माया ज्ञवालीले मानसिक असन्तुलन भएका महिलाहरू यौन हिंसामा पर्ने गरेकोले उनीहरूको सुरक्षाको विषयमा राज्य जिम्मेवार हुनु पर्ने बताइन् ।
दलित महिला सङ्घकी अध्यक्ष माया नेपालीले स्थानीय सरकारले महिला, दलित तथा जनजाती, मधेशीलगायत लक्षित बर्गलाई बजेट विनियोजन नगरेको आरोप लगाइन् ।
इन्सेक जिल्ला प्रतिनिधि नन्दराम पौडेलले सन् २०१९ जनवरीदेखि जुनसम्म ६ महिनाको अवधिमा जिल्लामा सङ्कलन गरिएका हत्या राज्य पक्षबाट एक, अन्य पक्षबाट एक, घाइते राज्य पक्षबाट एक, गिरफ्तार आठ, बाल अधिकार उल्लङ्घनका नौ, महिला विरूद्ध हुने सबै प्रकारका भेदभाव र दुर्व्यवहारमा ७९, मानव बेचबिखन तथा ओसारपसारमा दुई, परिवार जनबाट हत्यामा तीन ओटा गरी १ सय ४ ओटा घटना अभिलेख गरिएको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
नन्दराम पौडेल