अनौचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम असार ९ गते सम्पन्न भएको छ ।

कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि तिर्थराज डुम्रेले सन् २०१९ को जनवरीदेखि हालसम्म जिल्लामा सङ्कलन गरिएको घटनाको बारेमा जानकरी गराएका थिए ।
उनले सन् २०१९ मा हालसम्म २९ ओटा घटना फारम सङ्कलन गरिएको जानकारी दिए । जसमा नागरिक तथा राजनीतिक अधिकार उल्लङ्घनका आठ ओटा, बाल अधिकार उल्लङ्घनका पाँच ओटा, बलात्कार र यौन दुर्व्यवहार १० ओटा, घरेलु हिंसासम्बन्धी घटना १० ओटा, सम्पत्तिमा क्षतिको पाँच ओटा र मानव बेचबिखनसम्बन्धी एउटा घटना रहेको जानकारी दिए ।
कार्यक्रममा बोल्दै जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले मानव अधिकार रक्षाको लागि सबै पक्ष उत्तिकै जिम्मेवार बन्न पर्ने बताए ।
महिला हिंसा र बाल अधिकारसम्बन्धी घटनाहरूमा समेत मिलापत्रका गर्ने प्रवृतिको कारण घटनामा झन् वृद्धि भएको उनले बताए ।
यस्ता घटनामा मेलमिलाप नभई कानुनी कारवाही हुनुपर्ने उनले बताए । उनले मानव बेचबिखनको प्रवृत्तिमा परिवर्तन आएको भन्दै मानव बेचबिखनलाई वैदशिक रोजगारीका सवालहरूलाई पनि प्राथमिकता र निगरानि गर्न इन्सेकलाई सुझाव दिए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का डिएसपी अर्जुन रानाभाटले प्रहरी र नागरिकको सहकार्यमा नै मानव अधिकार हनन्का घटना न्यूनीकरण गर्न सकिने बताए ।
प्रहरी सदैव मानव अधिकार रक्षाको लागि क्रियाशील रहेको भन्दै सरोकारवालाहरूको सहकार्यमा नै अगाडि बढ्ने उनको भनाई थियो ।
कार्यक्रममा जिल्लाका विभिन्न सङ्घसंस्थाका प्रतिनिधि र पत्रकारहरूको सहभागिता रहेको थियो ।
तिर्थराज डुम्रे