अनौपाचारिक क्षेत्र सेव केन्द्र (इन्सेक) स्याङ्जाको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को प्रकाशन पूर्व अर्धवाषिक समीक्षा कार्यक्रम असार ८ गते सम्पन्न भएको छ ।
कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि हिमलाल पराजुलीले सन् २०१९ को जनवरीदेखि हालसम्म जिल्लामा सङ्कलन गरेका बलात्कार तथा बलात्कार प्रयासका १२, प्रहरीद्वारा गिरफ्तार चार ओटा र घरेलु हिंसाका नौ ओटा घटनाका साथै जिल्लाको मानव अधिकारको अवस्थाका बारेमा प्रस्तुत गरेका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख दिलिपकुमार बगालेले इन्सेकले मानव अधिकारको क्षेत्रमा महत्वपुर्ण योगदान पु¥याएको बताउँदै मानव अधिकार वर्ष पुस्तक एक महत्वपुर्ण दस्तावेज भएको बताए ।
उपप्रमुख बगालेले मानव अधिकारको रक्षाको लागि सबै लाग्नु पर्नेमा जोड दिए । नेकपाका प्रतिनिधि नारायण लम्सालले समाजमा घटने घटनाको न्यूनीकरणका लागि राज्यको मात्रै मुख नहेरी सबै लाग्नुपर्ने बताए ।
नेपाली कांग्रेस महासमिति सदस्य हिरादेवी शर्माले वैदेशिक रोजगारीले समाजमा समस्या थप्दै गएको बताउँदै यसको बारेमा समयमै सोच्नुपर्नेमा बताइन् ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी नविनकृष्ण भण्डारीले अपराध नियन्त्रणका साथै पीडितलाई न्याय र पीडकलाई कारवाही गर्ने कुरामा आफूहरूले कुनै कसर बाँकी नराख्ने बताए ।
जिल्ला पर्यटन विकास समितिका उपाध्यक्ष अनन्तकुमार श्रेष्ठले इन्सेकले आफ्नो दायेरा फराकिलो बनाउनु पर्नेमा जोड दिनु भयो ।
नेपाल पत्रकार महासङ्घ स्याङ्जाका अध्यक्ष ओमप्रकाश शर्माले अझै पनि घटनाहरूलाई समाजमै मिलापत्र गराउने कोसिस हुने गरेको बताउँदै खबरदारी आवश्यक रहेको बताए ।





हिमलाल पराजुली