डोल्पामा मानव अधिकार उल्लङ्घन र ज्यादतीका जघन्य घटनाहरू राजनीतिक दबाबमा मिलापत्र हुने गरेकाले घटना न्युनीकरणको साटो बढ्दै गएको एक कार्यक्रमका सहभागीले बताएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले जिल्लामा सङ्कलन गरेका मानव अधिकार उल्लङ्घनका घटनाहरूमाथिको समिक्षा कार्यक्रमका सहभागिहरूले उक्त कुरा बताएका हुन ।
०७५ पुस १७ देखि ०७६ जेठ मसान्तसम्म इन्सेक डोल्पाले जिल्लामा घटेका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूमा महिला हिंसाका पाँच, बलात्कारका दुई, कुटपिटका दुई र घरेलु हिंसाका दुई गरेर ११ ओटा घटनाहरू अखिलेखिकरण गरेको कार्यक्रममा जानकारी गराइएको थियो ।
त्रिपुरासुन्दरी नगरपालिकाका मेयर ओमबहादुर बुढाले जिल्लामा जघन्य अपराध जस्ता घटनाहरू पनि मिलापत्रमा टुङ्गिने गरेकाले अपराधिक व्यक्तिलाई थप प्रोत्साहन भई घटना न्युनीकरणको साटो बढ्दै जान थालेको बताए ।
इन्सेकले गरेको काम प्रसंशनीय रहेको बताउँदै उपल्लो डोल्पो विकट बस्तीमा इन्सेक पुग्नु पर्ने बुढाको भनाई थियो ।
नेकपा प्रदेश समिति सदस्य तथा अन्तरपार्टी महिला सञ्जालकी प्रतिनिधि कालि चलाउनेले चेतना र कमजोर बुझाई र फितलो कानुन राजनीतिक दबाबले मुद्दा मिलाउने प्रवृत्तिले घरबाटै महिलाहरू पीडित हुनु परेको बताइन् ।
प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले विकटता र छरिएको भुगोलको कारण सबै क्षेत्रमा मानव अधिकार शिक्षा पुग्न नसकेको र फितलो राजनीतिक चेतनाको कारण पनि डोल्पामा प्राय घरेलु हिंसाका घटना घटिरहेको बताए ।


विष्णुप्रसाद देवकोटा