INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) अर्घाखाँचीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२० को प्रकाशन पूर्व अर्ध वार्षिक समीक्षा असार ५ गते सम्पन्न भएको छ ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाले राज्यलाई सहयोग गरे मानव अधिकार उल्लङ्घनमा कमी हुने भन्दै राज्यलाई सहयोग गर्न आग्रह गरे ।

उनले भने–‘मानव अधिकारको संरक्षण गर्ने दायित्व राज्यको हो । नागरिकको अभिभावक राज्य भएको हँुदा राज्यलाई गाली गर्ने भन्दा पनि सहयोग गरे मानव अधिकारको अवस्थामा सुधार ल्याउन सकिन्छ ।’

थापाले इन्सेकले प्रकाशन गर्ने वर्ष पुस्तक र इन्सेक प्रतिनिधिको काम सराहनीय भएको भन्दै मानव अधिकारसम्बन्धी बहस स्थानीय तहसम्म चलाउनुपर्नेमा जोड दिए ।

जिल्ला न्यायधिवक्ता हरिप्रसाद घिमिरेले मानव अधिकारको संरक्षणमा इन्सेकको महत्वपूर्ण योगदान रहेको बताउँदै  केही घटना इन्सेकको सूचनाको आधारमा दर्ता भएको र अनुसन्धान गर्न समेत सहज भएको बताए ।

उनले वर्ष पुस्तकलाई मात्रै केन्द्रीत नभई सामाजिक विकृति, कुप्रथा, जातीय  विभेद र स्थानीय तहमा भएका न्यायिक निरूपणका विषयमा समेत वकालत गर्न सुझाव दिए ।

जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर गम्भिरजङ्ग थापाले मानव अधिकारको संरक्षण गर्न प्रहरी तयार रहेको बताए ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष हिमबहादुर जिसी लेकालीले पत्रकारले समेत थाहा नपाएका घटनाहरू इन्सेकको अभिलेखमा रहेको हुँदा निकै खुसी लागेको बताए । साथै उनले मानव अधिकारको विषयमा इन्सेकसँग सहकार्य गर्ने बताए ।

अन्तर पार्टी महिला सञ्जालका सचिव सुशीला गैरेले अहिले केही वर्षदेखि महिला हिंसा र बाल अधिकार उल्लङ्घनका घटनाहरू बढेकोले इन्सेक सहित अधिकारकर्मीहरूले सामाजिक अभियान चालउनु पर्नेमा जोड दिइन् ।

इन्सेक जिल्ला प्रतिनिधि नारायण भुसालले सन् २०१९ को जनवरीदेखि हालसम्मको अवधिमा जिल्लामा सङ्कलन गरेका कुटपिट एक, बाल अधिकार उललङ्घनका चार ओटा घटनामध्ये तीन ओटा बलात्कार तथा यौन दुर्व्यवहार र एउटा नवजात शिशु हत्याको घटना प्रस्तुत गरे ।

त्यसैगरी उनले महिला अधिकारसँग सम्बन्धित ४४ घटनामध्ये हत्याको एक, बलात्कार तथा बलात्कारको प्रयासका तीन, बहुविवाहका दुई, बेचबिखन तथा ओसार पसारका दुई र घरेलु हिंसाका ३६ ओटा घटनाहरूको विवरण प्रस्तुत गरे ।

photo20190622arghakhanchi (1)

photo20190622arghakhanchi (2)

नारायण भुसाल

अन्य

भिडियो