नेपाल मानव अधिकार वर्ष पुस्तक-२०२० का लागि सङ्कलित घटनाहरूको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम षडानन्द नगरपालिकामा असार ४ गते सम्पन्न भएको छ ।
समीक्षा कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि गणेश विष्टले सन् २०१९ को जनवरीदेखि हालसम्म सङ्कलन गरेका मानव अधिकार उल्ल‹न तथा ज्यादतीका ३१ ओटा घटना प्रस्तुत गरेका थिए ।

जसमा बलात्कारका पाँच, बलात्कार प्रयासका चार, हत्याका तीन, घरेलु हिंसाका नौ, यौन दुर्व्यवहारको एक, बहुविवाहका ६, हत्या प्रयासको एक, राजनीतिक अधिकार अन्तर्गतका तीन ओटा घटनाहरू अभिलेखीकरण गरिएको छ ।
कार्यक्रममा षडानन्द नगरपालिकाका प्रमुख वीरवल राईले मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरू इन्सेकले सङ्कलन गरेर नेपालको वास्तविक अवस्था देखाएको बताए ।
जिल्लामा बलत्कारका घटना दिन प्रतिदिन बढिरहेकाले यसतर्फ सबैको ध्यान जानु पर्नेमा उनको जोड रहेको छ ।

यस्ता घटनाहरूलाई न्यूनीकरण गर्न स्थानीय तह, प्रहरी प्रशासन तथा सबैले हातेमालो गरेर अगाडि बढ्नु पर्ने उनको भनाई छ ।
षडानन्द नगरपालिका न्यायिक समिति संयोजक एवम् नगरपालिकाकी उपप्रमुख मेरिका राईले इन्सेकले सङ्कलन गरेको घटनालाई हेर्दा समाजको चरित्र झन्झन बिग्रँदो गतिमा गइरहेकोले सबै एक जुट भएर लाग्नु पर्ने बताइन् ।
स्थानीय तह गठन भएपछि महिला तथा बालबालिकाका धेरै घटनाहरू न्यायिक समितिमा पनि आउने गरेको उनले बताइन् ।
यस्ता घटनालाई न्यूनीकरण गर्न गाउँपालिका तथा नगरपालिकाले चेतनामुलक कार्यक्रम गर्नु पर्ने उनको भनाई छ ।
इलाका प्रहरी कार्यालय दिङ्लाका इन्स्पेक्टर अमतलाल माझीले प्रहरी सधैँ मानव अधिकारको क्षेत्रमा लागिरहेको र आगामी दिनमा पनि लागिरहने प्रतिबद्धता व्यक्त गरे ।
उनले केही घटना पहिले दर्ता गर्न र पछि फिर्ता गर्न भनी गरिने ‘भनसुन’ले समस्या हुने गरेकाले कतिपय अवस्थामा कानुनी कारवाही व्यवहारिक हिसाब हल गर्नु पर्दा समस्या हुने गरेको बताए ।
मानव अधिकारकर्मी लीलामाया तामाङले जिल्लामा बालिका तथा महिला बलात्कारका घटना दिन प्रतिदिन बढिरहेकाले यस्ता घटना न्यूनीकरणमा सरोकारवाला सबैको ध्यान जानु पर्ने बताइन् ।
गणेश विष्ट