INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम असार ३ गते फुङलिङमा सम्पन्न भएको छ ।

०७५ पुस १७ गतेयता अभिलेख गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा सबैभन्दा बढी बाल अधिकार विरूद्घ घटनाहरू रहेको उक्त कार्यक्रममा जानकारी दिइएको छ ।

Photo20190620Taplejung (2)

इन्सेकले गरेको अभिलेखमा यो अवधिमा जिल्लामा १४ ओटा घटना छन् । जसमा तीन जना बालिका यौन दुर्व्यवहार घटनाबाट पीडित र एक जना बालिका बलात्कार घटनाबाट पीडित भएका छन् ।

एक जना महिला बलात्कार घटनाबाट पीडित भएको अभिलेख इन्सेकले गरेको छ । अन्यपक्षबाट गरिएको गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । त्यसैगरी ५ ओटा घरेलु हिंसाका घटना अभिलेख गरिएको छ ।

Photo20190620Taplejung (1)

इन्सेक ताप्लेजुङ जिल्ला प्रतिनिधि देवराज गुरुङद्वारा प्रस्तुत जिल्लाको मानव अधिकार अवस्थाको प्रतिवेदनमा छलफल गर्दै सरोकारवालाहरूले महिला तथा बालबालिका विरूद्घमा हिंसा न्यूनीकरणमा राज्य कमजोर भएको बताएका छन् ।

समीक्षाका अवसरमा बोल्दै नेकपाका जिल्ला अध्यक्ष विजय किराँतले कुनैपनि बालक जन्म दर्ताबाट वञ्चित भएको अवस्थाप्रति सबैको ध्यान जान जरूरी भएको बताए ।

Photo20190620Taplejung (3)

महिला उद्यमी सङ्घ सिदीङ्गमाका कार्यक्रम संयोजक किरण पौडेलले इन्सेकको भूमिका प्रभावकारी भएको र यसले मानव अधिकारका विषयलाई अभिलेखीकरण गरी राज्यलाई गुन लगाएको बताए ।

उनले सिदिङ्गमा गाउँपालिकामा धेरै बालबालिका जन्म दर्ताबाट वञ्चित भएकोप्रति ध्यानाकर्षण गराउँदै जन्मदर्ता पहलका लागि इन्सेकसँग आग्रह गरे ।

अधिकारकर्मी कुमार सिंवाले गाउँमा बालविवाहको अवस्था कहाली लाग्दो पाइएको बताउँदै यसतर्फ जनचेतनामुलक कार्यक्रमको खाँचो औँल्याए ।

जिल्ला अदालतका श्रेस्तेदार केदार गौतमले अदालतमा पारपाचुके मुद्दाको तथ्याङ्कमा २० वर्ष मुनिका उमेरका जोडी पनि पाइएको बताए ।

देवराज गुरुङ

अन्य

भिडियो