INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व समीक्षा

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनुषाको आयोजनामा मङ्सिर १० गते जनकपुरमा नेपाल मानव अधिकार वर्ष पुस्तक–२०१९ का लागि सङ्कलित घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरिएको छ ।

कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि विनोदकुमार रविदासले सन् २०१८ को जनवरीदेखि नोभेम्वरसम्ममा जिल्लामा सङ्कलित ७३ ओटा घटनामा ७४ जना पीडित भएको प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदनमा नौ जना महिला सहित १२ जनाको हत्या भएको छ ।

त्यस्तै बलात्कार घटनामा १६, बलात्कार प्रयास तथा यौन दुर्व्यवहारका घटनामा १०, बहुविवाहका घटनामा ६, दाइजोका कारण कुटपिट घटनामा दुई, बालविवाहका घटनामा दुई, बम विष्फोटको घटनामा एक, घरेलु हिंसाका घटनामा १६, मानव बेचबिखनका घटनामा तीन, कथित बोक्सी आरोप तथा दुर्व्यवहार घटनामा ६ र मोसो दलेर दुर्व्यवहार गरेको घटनामा एक जना पीडित भएका छन् ।

जसमध्ये राज्यपक्षबाट दुई जना पीडित भएका छन् भने गैरराज्य पक्षबाट ७२ जना पीडित भएका छन् ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले मानव अधिकारको सिद्धान्त राम्रो भएपनि कार्यान्वय पक्ष फितलो र व्यवहारिक नभएको बताए ।

गरिब, दलित र आवाज विहीनको आवाज सुन्न उनीहरूको पिडालाई आफ्नो पीडा सम्झनु पर्ने उनको भनाई छ ।

राष्ट्रिय मानव अधिकार आयोगका मानव अधिकार अधिकृत रेवा रेग्मीले समाजमा कुनै पनि मानव अधिकार घटना भएमा इन्सेक र मानव अधिकार आयोगलाई सूचना दिइ सहयोग गर्न अनुरोध गरिन् ।

नेपालमा मानव अधिकारका घटनाहरूलाई अभिलेखिकरण कार्य इन्सेकले गरेर राज्यलाई मानव अधिकार संरक्षण र सम्बद्र्धन गर्ने कार्यमा थप सहयोग गरेको उनले बताइन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी गोविन्द थपलियाले समाजमा जघन्य प्रकारका घटनाहरू घटेमा पहिला समाजमा मिलाउन खोज्ने र नमिलेपछि मात्र प्रहरीमा ल्याउने प्रवृतिले अपराध गर्नेको मनोवल उच्च हुने गरेको बताए ।

विभिन्न घटनाहरूको सत्यतथ्य बाहिर ल्याएर प्रहरीलाई इन्सेकले सल्लाह सुझाव दिने आशा राखेको एसपी थपलियाले बताए ।

पत्रकार कैलास दासले अहिलेको अवस्थामा पुरुष हिंसा पनि बढेकामा ती घटनाहरू पनि इन्सेकले प्रकाशन गर्ने मानव अधिकार वर्ष पुस्तकमा समेट्न सुझाव दिए ।

स्थानीय तहमा गठित न्यायिक समितिमा पर्ने गरेको उजुरीहरू पनि यस वर्ष पुस्तकमा राख्न पत्रकार महासङ्घ जिल्ला शाखाका उपाध्यक्ष धर्मेन्द्र झाले बताए ।

इन्सेकले मानव अधिकारका ६ ठूला महासन्धिको आधारमा जिल्लाका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना अभिलेखिकरण गर्ने गरेको इन्सेक प्रदेश २ का संयोजक राजु पासवानले बताए ।

आर्थिक, समाजिक तथा सांस्कृतिक अधिकारका सवाललाई समेत इन्सेकले वर्ष पुस्तकमार्फत उठान गरेको प्रदेश संयोजक पासवानले बताए ।

photo20181128dhanusha (1)

photo20181128dhanusha (2)

photo20181128dhanusha (3)

विनोदकुमार रविदास

अन्य

भिडियो