INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ को प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ का लागि डोल्पामा सङ्कलन गरिएका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम मङ्सिर ६ गते सम्पन्न गरिएको छ ।

इन्सेकले आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा प्रस्तुत गरिएको अभिलेखमा जिल्लामा महिला हिंसाका घटना सबैभन्दा बढी रहेको उल्लेख छ ।

महिला हिंसाका घटना बढ्हनुमा जनचेतनाको कमी, भौगोलिक विकटता र राजनीतिक हस्तक्षेप प्रमुख कारण रहेको कार्यक्रमका सहभागिरूले बताए ।

सन् २०१८ जनवरीदेखि नोभेम्वरसम्म जिल्लामा सङ्कलन गरेका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना इन्सेक प्रतिनिधि विष्णुप्रसाद देवकोटाले कार्यक्रममा प्रस्तुत गरेका थिए ।

इन्सेकले प्रकाशन गर्दै आइरहेको मानव अधिकार वर्ष पुस्तकमा प्रकाशन पूर्व जिल्लामा सङ्कलित घटनाहरूको पुनःपुष्टि तथा थपघट र विश्वसनीयता बृद्धिका लागि सरोकारवालाहरूको सहभागितामा घटनाहरूमाथिको समीक्षा कार्यक्रम गर्ने गरेको छ ।

इन्सेकले प्रस्तुत गरेका २१ ओटा घटनामा महिला हिंसा अन्तर्गतका १२, बलात्कार/बलात्कार प्रयासका तीन, कथित बोक्सी आरोपमा कुटपिटका दुई, बहुविवाहका दुई, जातीय विभेदको एक र पत्रकारलाई कुटपिटको एउटा घटना रहेका छन् ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी शर्माले उपल्लो डोल्पामा मानव अधिकार उल्लङ्घनका घटना भएको बताउँदै ती क्षेत्रका घटना सार्वजनिक हुन नसकेको बताए ।

इन्सेकलगायतका अधिकारका क्षेत्रमा कार्यरत संस्था उक्त क्षेत्रमा स्थलगत अनुगमनमा जानु पर्नेमा उनको सुझाव छ ।

जिल्ला प्रहरी कार्यालयका सई टेकबहादुर देउवाले घटनाका विषयमा प्रहरीलाई तत्काल सूचना दिन अनुरोध गरेका थिए ।

अन्तरपार्टी महिला सञ्जालकी काली चलाउनेले समाजमा महिला हिंसाका घटना भइरहेको भएपनि प्रहरीमा जाने कि न्यायिक समितिमा भन्ने विषयमा अन्यौलता भएकाले पनि सबै घटना बाहिर आउन नसकेको बताइन् । कतिपय घटनाका क्षेत्राधिकार नबुझ्दा पनि राजनीतिक दबाबमा मिलापत्र हुने गरेको उनले बताइन् ।

विष्णुप्रसाद देवकोटा

अन्य

भिडियो