नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ को पूर्र्व वार्षिक समीक्षा कार्यक्रम ०८२ पुस ९ गते सम्पन्न भएको छ । अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) म्याग्दीको आयोजनामा भएको उक्त कार्यक्रममा जिल्लामा सन् २०२५ मा इन्सेकले अभिलेख गरेका १० ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरु प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा मालिका गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीदेवी घर्ती मगर पुनले मानव अधिकारको रक्षाका लागि सबैले आफ्नो तर्फबाट पहल गर्नु पर्नेमा जोड दिनु भयो । मानव अधिकारको संरक्षण र प्रवद्र्धन राज्य, स्थानीय तह र नागरिक सबैको साझा दायित्व भएको बताउदै शिक्षा पाउने अधिकार अझै पनि सबै बालबालिकाले प्राप्त गर्न नसकेको अवस्था प्रति चिन्ता व्यक्त गर्नुभयो । निःशुल्क तथा अनिवार्य शिक्षाको प्रभावकारी कार्यान्वयनका लागि सबैले पहल गर्नुपर्नेमा उहाँको जोड थियो । 
इलाका प्रहरी कार्यालय दरवाङका इन्सपेक्टर रविन्द्र कार्कीले बालबालिका सम्बन्धी ऐन २०७५ लाई सबैले पालना गर्ने हो भने बालबालिकाको अधिकार सुनिश्चित गर्न सकिने बताउनु भयो । उहाँले सबैले गर्नु पर्ने काम नगर्ने र कानुन उल्लङ्घन गर्ने हुँदा नै अधिकारको हनन हुने गरेको बताउनु भयो ।
जनप्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक दिवाकर सुवेदीले विद्यार्थी तथा अभिभावकहरुमा सचेतना भयो भने धेरै अधिकारको प्रत्याभुति हुनेमा जोड दिनु भएको थियो ।
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका शाखा प्रबन्धक मुक्ति पौडेलले प्रत्येक नागरिकको बाँच्न पाउने अधिकार सुनिश्चित गर्न जोखिम न्यूनीकरण र जीवन सुरक्षाका उपाय अपनाउपर्ने बताउँदै मानव अधिकार संरक्षणका लागि पहलकदमी आफैबाट सुरु गर्नु पर्ने बताउनु भयो ।
इन्सेक प्रतिनिधि अमृत बास्कुनेले सञ्चालन गरेको कार्यक्रममा मानव अधिकारका समग्र पक्षका बारेमा समेत अन्तरक्रिया गरिएको थियो ।