INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ को पूर्व समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ को प्रकाशन पूर्व समीक्षा कार्यक्रम ०८२ मंसिर २३ गते चरिकोटमा सम्पन्न भयो । ७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आयोजित पूर्व समीक्षा कार्यक्रममा इन्सेक प्रतिनिधि उद्धव पोखरेलले सन् २०२५ को जनवरी १ देखि डिसेम्बर ८ सम्म दोलखा जिल्लामा १४ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरु प्रस्तुत गर्नु भएको थियो । जसमा बलात्कारका घटना ६ वटा, बलात्कार प्रयासका घटना एक, यौन दुरुपयोका घटना तीन वटा, कर्तव्य ज्यानको एक वटा, ज्यान मार्ने उद्योगका तीनवटा रहेका छन् । साथै उहाँले उक्त अवधिमा महिला, बालबालिका, जेष्ठ नागरिक कार्यालयमा आठ वटा उजुरी दर्ता भएकोमा सातवटा उजुरीमा मेलमिलाप भएको र एकओटा घटना कानुनी प्रक्रियामा पठाइएको बताउनु भयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले मानव अधिकारको संरक्षण र प्रवद्र्धनमा सरकारको मात्र प्रयासले दुरदराजका नागरिकसम्म पुग्न नसक्ने भन्दै नागरिक समाज, पत्रकार र सचेत नागरिकले समेत चासोका साथ सहयोग गर्न आग्रह गर्नुभयो ।

समीक्षा कार्यक्रममा जिल्ला समन्वय समिति, दोलखाका प्रमुख बर्जुराम घतानीले जिल्लामा मानव अधिकारका घटना अन्यत्रको तुलनामा कमी रहेता पनि दोलखा जिल्ला मानव अधिकारका घटना नभएको जिल्ला भनी चिनाउने गरी काम गर्न सरोकारवाला पक्षलाई आग्रह गर्नुभयो ।

नेपाल बार एसोशियसन दोलखाका सभापति कृष्ण बस्नेतले आम नागरिकको स्वतन्त्रता, समानता र मर्यादाको बिषय महत्वपूर्ण रहेको भन्दै आधारभूत मानव अधिकार सबैले उपभोग गर्न पांउनु पर्ने बताउनु भयो । उहाँले नागरिक समाज र सामाजिक संस्थाहरुले निरन्तर पैरवी गर्नुपर्ने भन्दै आफ्ना नागरिकलाई मानव अधिकार उपयोग गर्ने वातावरण राज्यको दायित्व रहने बताउनु भयो ।

नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष प्रभु जिरेलले मानव अधिकार आम नागरिकले उपभोग गर्न पाउनु पर्ने र त्यस्तो वातावरण राज्यको तहबाट हुनुपर्ने भन्दै सञ्चार जगतले मानव अधिकार संरक्षण, सम्बद्र्धन र सचेतिकरणका लागि भूमिका खेल्ने बताउनु भयो । 

उद्धव पोखरेल

अन्य

भिडियो