नेपाल मानव अधिकार वर्ष पुस्तकका लागि सङ्कलित घटनाहरूको प्रकाशन पूर्व समीक्षा तथा जिल्लाको मानव अधिकारको अवस्थाका विवषयमा आयोजित छलफल कार्यक्रम मङ्सिर ५ गते दमौलीमा सम्पन्न गरिएको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले अहिले तीन तहको सरकार भएका कारण सेवाप्रवाहमा केही अन्यौलता उत्पन्न भएको भन्दै यस्तो अवस्था लामो समयसम्म रहन नहुने बताए ।
शर्माले राज्य मानव अधिकारको संरक्षक भएको कारण मानव अधिकारको संरक्षण गर्ने क्रममा कतै केही कमजोरी हुन सक्ने र कमजोरी भएको खण्डमा इन्सेकलगायत मानव अधिकारका क्षेत्रमा क्रियाशील सङ्घ संस्थाले राज्यलाई खबरदारी गरिरहनु पर्ने बताए ।

अन्य जिल्लाको तुलनामा तनहुँमा गम्भीर प्रकृतिका मानव अधिकार हनन्का घटनामा केही कमी आएको भन्दै प्रमुख जिल्ला अधिकारी शर्माले सबै राजनीतिक दल, सङ्घ संस्था र नागरिक समाजसँग हातेमालो गरेर कार्य सम्पादन गर्ने बताए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, तनहुँका एसपी सिद्धिविक्रम शाहले मानव अधिकारकर्मीले नागरिकलाई अधिकारको कुरा मात्र नभई कर्तव्यको बारेमा पनि सिकाउनु पर्नेमा जोड दिए ।

अहिले स्थानीय तह र प्रहरीबीच क्षेत्राधिकारको बारेमा विवाद उठेको भन्दै उनले स्थानीय तहको न्यायिक समितिले फौजदारी प्रकृतिका मुद्दाहरू दर्ता गर्न नपाउने स्पष्ट पारे । राजमार्गमा हुने अवरोध र चक्काजामको घटनालाई पनि मानव अधिकार उल्लङ्घनको रूपमा उल्लेख गरिनु पर्ने एसपी शाहको भनाई थियो ।
नेपाल कम्युनिष्ट पार्टी जिल्ला संयन्त्रका सदस्य श्रीप्रसाद श्रेष्ठले इन्सेकले प्रकाशन गर्ने मानव अधिकार वर्ष पुस्तक नेपालको मानव अधिकारको जीवन्त दस्तावेज भएको भन्दै घटना सङ्कलनको क्रममा यथार्थपरक हुनु पर्ने बताए ।
कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराईले सन २०१८ को जिल्लाको मानव अधिकारको अवस्था तथा मानव अधिकार वर्ष पुस्तकको लागि सङ्कलित घटनाहरूको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
इन्सेकले तनहुँ जिल्लामा ७० ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना अभिलेख गरेकोमा बलात्कार तथा बलात्कार प्रयाससम्बन्धी १०, कथित बोक्सीको आरोपसम्बन्धी एक, जातीय विभेदको एक, कुटपिटका दुई, भौतिक सम्पत्ति क्षतिको एक र विद्यालयमा शारीरिक दण्ड सजायको एउटा घटना रहेका छन् ।
प्रकाशचन्द्र भट्टराई