अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), पश्चिम नवलपरासीको आयोजनामा नेपाल मानव अधिकार वर्षपुस्तक २०२६ का लागि अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न भएको छ । इन्सेक प्रतिनिधिको अध्यक्षता र जिल्ला समन्वय समितिका प्रमुख भगवती प्रसाद यादव (रुदल) को प्रमुख आतिथ्यतामा, प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, एस.पी. अनुपम श्रेष्ठ, सशस्त्र प्रहरीका डि.एस.पी. प्रमोद खड्काको उपस्थितिमा कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधिले सन् २०२५ जनवरीदेखि जुनसम्म जिल्लामा भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतिका २८ ओटा घटना अभिलेख भएको बताउनु भयो । जसमा हत्याका पाँच, बाल अधिकारका १३, महिला अधिकारका १० ओटा घटना रहेका कार्यक्रममा प्रस्तुत गर्नु भएको थियो ।
प्रमुख अतिथि यादवले जिल्लामा घटेका मानव अधिबार हनन सम्बन्धी घटनाको अभिलेख गरिएकोमा इन्सेकलाई धन्यवाद व्यक्त गर्दै यी घटनाहरुको सरोकारवाला निकायबाट पुष्टि गर्नुपर्नेमा जोड दिनुभयो । साथै, यस्ता घटनामा कमी ल्याउन हरेक व्यक्ति सचेत हुनुपर्ने र उल्लङ्घनका घटना हुन नदिन आफ्नो स्थानबाट हर व्यक्तिले जिम्मेवारी वहन गर्नुपर्ने पनि बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले घटना विवरणमा धेरैजसो घटना बाल यौन शोषणका हुनु र पीडित हुनेहरु सबै परिवार भित्रका सदस्यबाट हुनु गम्भीर समाजिक समस्या रहेको बताउनुभयो । उहाँले यस्ता घटना घट्नुमा सुरक्षा व्यवस्थाका कारण नभई व्यक्तिमा रहेको दुषित अपराधिक मनासायका कारण रहेको बताउनुभयो । बाल अधिकारको संरक्षणमा सम्बन्धित परिवारका सदस्य र निकटका आफन्त नै सजग रहनुपर्ने प्रमुख जिल्ला अधिकारीले बताउनुभयो ।
साथै, जिल्लामा साइबर अपराध बढ्नु र त्यसबाट मानव अधिकार उल्लङ्घनका घटना हुनु नयाँ प्रवृत्तिको रुपमा रहेको एस.पि. अनुपम श्रेष्ठले बताउनुभयो । यस्ता घटनाको न्यूनीकरणमा सम्बन्धित सरोकारवालाले ध्यान दिनुपर्नेमा पनि उहाँले जोड दिनुभयो । एस.पी. श्रेष्ठले जिल्लामा हुने करिब ९५ प्रतिशत यौन हिंसाका घटना आफन्त र परिवारभित्रबाट नै हुने गरेकोमा पनि जिकिर गर्नुभयो ।
कार्यक्रममा राजनीतिक दलका तर्फबाट नेपाली कांग्रेसका जिल्ला सभापति विक्रम खनाल, नेकपा एमालेका प्रदेश कमिटी सदस्य थानप्रसाद गैरे, माओवादी केन्द्रका प्रदेश सदस्य बुद्धन अली, जनता समाजवादी पार्टीका अध्यक्ष धरेन्द्र यादव, रास्वपाका कार्यवाहक अध्यक्ष रवि पाण्डे, जिल्ला बार एशोसियशनका अध्यक्ष रामकृष्ण पौडेल लगायतको उपस्थिति रहेको थियो । भ्रष्टाचार विरुद्ध निगरानी समितिका अध्यक्ष रामजी ज्ञवाली, सुरक्षा, अन्य गैरसरकारी संस्थाका प्रतिनिधि लगायतका सरोकारवालाहरुको उपस्थिति रहेको थियो । त्यस्तै, नागरिक समाजका अध्यक्ष, अदालतका कर्मचारी, अनुसन्धान कार्यालयका सहायक प्रमुखको पनि कार्यक्रममा उपस्थिति रहेको थियो ।
