अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सङ्खुवासभाको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ का लागि सङ्कलन गरिएका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम मङ्सिर ५ गते खाँदबारीमा सम्पन्न गरिएको छ ।
समीक्षा कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि बाबुराम बास्तोलाले सन् २०१८ जनवरीदेखि अक्टोवरसम्म सङ्कलन गरेका ४६ ओटा घटनाहरू समेटेको प्रतिवेदन प्रस्तुत गरे ।

प्रतिवेदनमा बलात्कारका दुई र बलात्कार प्रयासका १३ ओटा घटनामा महिला पीडित भएका उल्लेख गरिएको छ । प्रतिवेदन अनुसार यो अवधिमा आठ जना बालिका बलात्कृत भएका छन् भने सात जना बालिकालाई यौन दुर्व्यवहार गरिएको छ ।
यस वर्ष पाँच जनाको हत्या भएको छ भने हत्या प्रयासका तीन ओटा घटना सङ्कलन गरिएको छ बहुविवाहका चार र मानव बेचबिखनको एक/एक ओटा घटना प्रतिवेदनमा समेटिएको छ ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले इन्सेकले विगतदेखि मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको सङ्कलन गरी वर्ष पुस्तकमार्फत नेपालको मानव अधिकारको अवस्था प्रस्तुत गर्ने काम गरेको बताए ।
उनले नागरिकका अधिकार तथा आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारका विषयमा समेत प्रतिवेदनमा उल्लेख गरिएको भन्दै बनेका कानुन कार्यन्वयनमा जोड दिए । पछाडि पारिएका नागरिकहरूको आवाज पनि मानव अधिकारकर्मीले उठाउनु पर्ने भन्दै वर्ष पुस्तकमा समावेश गर्न उनले सुझाव दिए ।
खाँदबारी नगरपालिका न्यायिक समिति संयोजक डेगेश्वरी श्रेष्ठले इन्सेकले देशव्यापी रूपमा गरिरहेको मानव अधिकारको अनुगमन र प्रलेख कार्य उदाहारणीय भएको बताइन् ।
नेपालमा विगत २६ वर्षदेखि मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना समेटेर वर्ष पुस्तक प्रकाशन गर्ने एक मात्र संस्था इन्सेक भएको र वर्ष पुस्तकमा प्रकाशन हुने घटनाहरूको पूर्व समीक्षामार्फत केलाउने कार्य सरहानीय भएको उनले बताइन् ।
सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले मानव अधिकारको विषयवस्तु गहन भएकाले सबै नागरिक सम्मानित, स्वतन्त्र र मर्यादित रूपमा बाँच्न पाउनु मात्रै नभइ स्वच्छ वातावारणमा बस्न पाउनु, विकासको अधिकार अनुभूति गर्न पाउनु पनि मानव अधिकार भएको बताए । उनले वर्ष पुस्तक मानव अधिकारको दस्तावेज भएकोले यसमा प्रकाशन हुने कुरा सत्यतथ्य हुनु पर्ने बताए ।
नेपाल पत्रकार महासङ्घ सङ्खुवासभाका अध्यक्ष इन्द्र गिरीले द्वन्द्वकालमा मानव अधिकारको अवस्थाका बारे जोखिम मोलेर भए पनि वर्ष पुस्तक प्रकाशन हुने गरेको स्मरण गरे । गिरीले छुटेका घटनाहरू प्रहरीसँग समन्वय गरी सङ्कलन गर्न सुझाए ।
मानव अधिकारकर्मी चित्ररेखा अधिकारीले मानव अधिकारका सवालमा घटना सङ्कलन गर्ने, घटनाको अनुगमन गर्ने, अभिलेख राख्ने एउटा मात्र संस्था इन्सेक भएको बताइन् । उनले बालविवाह र स्वास्थ्य उपचार नपाएका घटना छुटेकोले समावेश गर्न सुझाव दिइन् ।
जिल्ला प्रहरी कार्यलयका इन्स्पेक्टर रामजी कटुवालले नागरिक समाज, राजनीतिक दल र पीडित पक्ष सबैको सहयोगबाट मात्रै मानव अधिकार उल्लङ्घनका घटनामा कमी आउने बताए । चेतनाको कमीले केही घटनाहरू प्रहरीमा ढिला गरी आउने गरेको उनको भनाइ छ ।
बाबुराम बास्तोला