अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पर्वतले सन् २०२४ को जनवरीदेखि डिसेम्बरसम्म प्रलेखिकरण गरेका घटनाहरुको प्रकाशन पूर्व वार्षिक समीक्षा गरेको छ ।
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि सङ्कलन गरिएका विवरणहरुको समीक्षा गरी तथ्याङ्क सार्वजनिक गरिएको हो । कार्यक्रममा इन्सेकका जिल्ला प्रतिनिधि सन्तोष थापाले जिल्लामा भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको बारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा इन्सेक प्रतिनिधि थापाले जिल्लामा सन् २०२४ मा जुनदेखि डिसेम्बर अर्थात २०८० पुस १५ देखि २०८१ पुस १५ सम्म विभिन्न २१ ओटा घटनाहरु सङ्कलन गरिएको जानकारी दिनु भयो । त्यसअघिको समीक्षा अर्धवार्षिक समीक्षामा गरिएको पनि उहाँले बताउनु भयो । जस अनुसार घरेलु हिंसा १४, बलात्कार तथा यौन दुर्व्यवहार चार, हत्या एक, सामुहिक बलात्कार एकलगायत छन् ।

कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख सोमबहादुर जिसीले जिल्लामा घरेलु हिंसाका घटनाहरु अत्यधिक मात्रामा बढेको बताउँदै ती घटनाहरु नियन्त्रणका लागि स्थानीय तहसँग समन्वय गर्ने बताउनु भयो । उहाँले जिल्लामा मानव अधिकारको प्रत्याभूतिका लागि सवैले हातेमालो गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष लक्ष्मण सापकोटाले इन्सेकले गरेको कामको प्रसंसा गर्दै अझै दुरदराजसम्म पुगेर घटनाहरु प्रलेखिकरण गर्न सुझाव दिनु भयो । मानव अधिकारमैत्री समाज निर्माणका लागि स्थानीय तहहरु अनुदार बनेको आरोप लगाउँदै उहाँले भोलिका दिनमा मानव अधिकारको सम्बर्द्धनका लागि सबै आआफ्नो क्षेत्रबाट लाग्नुपर्ने बताउनु भयो ।