अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले बागलुङमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न गरेको छ ।
समीक्षा कार्यक्रममा बोल्दै बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदीले पीडितलाई छिटो न्याय दिने विषयमा सबै संवेदनशील हुनु पर्ने बताउनु भएको छ ।
प्रजिअ सुवेदीले वैदेशिक रोजगारीका कारण पनि हिंसा घटना दिन प्रतिदिन बढ्दै गएको भन्दै हिंसा न्यूनिकरणका लागि सबै सचेत हुनुपर्ने बताउनु भयो ।

इन्सेकले हरेक वर्ष नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन गर्नु पूर्व गर्ने समीक्षा कार्यक्रमले मानव अधिकारका विषयमा इन्सेकको गम्भिरता प्रष्टाउने बताउनु भएको थियो ।
अभिलेख तयार गर्दा सबैले पूर्ववत् समीक्षा गर्ने हो भने त्रुटि कम हुने भन्दै उहाँले नेपालमा इन्सेकले गर्दै आएको अभ्यास सबैभन्दा उत्कृष्ट रहेको बताउनु भएको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका एसपी ऋषीराम कँडेलले पछिल्लो समय जबरजस्ती करणी र ज्यान मार्ने कसुर शीर्षकमा दर्ता गरिदेउ भन्न आउने अधिकाश घटना अदालतबाट प्रमाणित हुन नसक्ने खालका भएको बताउनु भयो ।
प्रहरीलाई मुद्दा दर्ता गर्न चौतर्फी दबाब दिने तर, घटनाको गाम्भिर्यता र प्रहरीको प्रारम्भिक अनुसन्धानले फरक देखाएको खण्डमा पीडितलाई सम्झाइबुझाई पीडितकै न्यायको लागि सहजिकरण गर्दा समेत कहिलेकँही अपजस आउने उहाँको भनाइ थियो ।
बागलुङ जिल्लामा पछिल्लो ६ महिनाको अवधिमा घटेका महिला अधिकारतर्फ घरेलु हिंसाका १४, बलात्कारका ५, बहुविवाहका एक, बाल बलात्कारको एक र बाल हत्याको एक घटनाको समीक्षा गरिएको थियो ।
