अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को वार्षिक पूर्व समीक्षा कार्यक्रम ०८१ पुस ८ गते मान्ममा सम्पन्न भएको छ ।

समीक्षा कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधिद्वारा सन् २०२४ को जनवरीदेखि डिसेम्वरसम्म वार्ष भरीमा सङ्कलन गरेका मानव अधिकारसँग सम्बन्धित २९ ओटा घटना प्रस्तुत भएका थिए । कार्यक्रममा प्रस्तुत घटनाहरूमा महिला अधिकारसँग सम्बन्धित १५ ओटा, बाल अधिकार तथा हिंसा सम्बन्धी पाँच ओटा, जातीय विभेदका एक ओटा, कुटपिटका दुई ओटा, आर्थिक तथा सामाजिक अधिकारका पाँच ओटा गरी २९ ओटा घटना रहेका छन् ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराइले इन्सेकद्वारा प्रकाशन हुने मानव अधिकार वर्ष पुस्तकले मानव अधिकार हनन् तथा ज्यादतीबाट पीडितहरूको अधिकारका लागि एउटा कोसेढुङ्गा सावित भएको बताउनु भयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर गोविन्द चौधरीले मानव अधिकार वर्ष पुस्तकले पीडितलाइ न्याय र पीडिकलाई कारवाही गर्न मद्दत पुगेको हुनाले पुस्तकमा छापिने घटनाहरू तथ्यपरक हुनु पर्नेमा जोड दिनुभयो ।

एमाले कालिकोटका उपसचिव पवित्र शाही, माओवादी केन्द्रका अजय बम, नेपाल पत्रकार महासङ्घका रत्न कार्की, युवा मानव अधिकार रक्षक सञ्जालकी अध्यक्ष निस्ता कार्की, बाल अधिकाकर्मी खडानन्द अधिकारी, दलित अधिकारकर्मी रमेश नेपाली लगाएतले महिला हिंसा, जातीय विभेद, यौन दुर्व्यवहारका घटनाहरूमा अझै पनि ओझेलमा रहेकाले इन्सकले उजागर गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा सरोकारवाला सरकारी कार्यालयका प्रतिनिधि, नागरिक समाज, महिला अधिकारकर्मी र पत्रकारको उपस्थिति रहेको थियो ।

