अनौचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालय मातहतमा कार्यरत महोत्तरी, सर्लाही र रौतहट प्रतिनिधिले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा ०८१ पुस ७ गते सम्पन्न गर्नु भएको छ । समीक्षा कार्यक्रममा प्रतिनिधिहरूले आआफ्नो जिल्लामा सङ्कलन गर्नु भएको मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको पुष्टि र पुनरपुष्टिका लागि सरोकारवाला निकायका प्रतिनिधिहरू समक्ष प्रतिवेदन प्रस्तुत गनु भयो ।
इन्सेक महोत्तरी प्रतिनिधि ममता विश्वकर्माका अनुसार समीक्षा कार्यक्रममा सुरक्षा निकाय, जिल्लामा कृयाशिल मानव अधिकारको पैरवी गर्ने तथा पीडितहरूको न्यायमा पहुँचका लागि समन्वय गर्ने विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको उपस्थित रहेको थियो ।

कार्यक्रममा महिला मानव अधिकार रक्षक सञ्जालकी अध्यक्ष काजल नगवंशिले महिलाहरूको हितको लागि संविधानले आरक्षणको व्यव्स्था गरेको भए तापनि सुरक्षाको दृष्टिकोणले महिलाहरू अझ पनि असुरक्षित रहेको बताउनु भयो ।
सूचनाको लागि राष्ट्रिय महासंघ मधेस प्रदेशका उपाध्यक्ष राकेश प्रसाद चौधरीले इन्सेकले प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तकको काम सह्रानीय रहेको बताउनु भयो । चौतारी नेपालका अध्यक्ष रामवरण यादवले लैङ्गिक तथा अल्पसंख्यकको बारे पनि वर्ष पुस्तकमा विशेष स्थान दिन आग्रह गर्नु भयो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका सइ चन्द्र भुषण शाहले महिला हिंसा, बलात्कार तथा हत्या जस्ता घटनाहरू दिनप्रतिदिन बढ्दै गइरहेकोले यसलाई न्यूनीकरणको लागि सचेतनाको अभियान सञ्चालन गर्न अत्यावश्यक रहेको बताउनु भयो ।




इन्सेक सर्लाही जिल्ला प्रतिनिधि बुधन साहका अनुसार सर्लाही जिल्लामा सन् २०२४ जनवरीदेखि डिसेम्बरसम्ममा राज्य पक्षबाट सात ओटा मानव अधिकार उल्लङ्घनको घटना भएको छ । त्यसैगरी, गैर राज्य पक्षबाट हत्या तीन ओटा, परिवारजनबाट हत्या चार ओटा, यौन दुर्व्यवहार ११ ओटा, बलात्कार (बालिका) २९, बलात्कार (महिला) १७, बलात्कार प्रयास ३४, झडप तथा कुटपिट सात, तोडफोड चार, दाइजोको कारण कुटपिट नौ, कथित बोक्सी आरोप सात, मानव बेचबिखन ११, अपहरण दुई, अपहरण प्रयास दुई, जातीय विभेद चार, बहुविवाह चार र ५२ ओटा घरेलु हिंसा सहित २ सय ७ ओटा घटनाहरूको अभिलेख गरिएको साहले बताउनु भयो ।

कार्यक्रममा बाल्नुहुँदै सहायक सिडिओ होमप्रसाद घिमिरेले इन्सेकद्वारा नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशनका लागि जिल्लामा भएका मानव अधिकार उल्लाङ्घन तथा ज्यादतीका घटनाहरूले सङ्कलन र अभिलेखिकरण तथा दस्तावेजिकरण गर्ने कार्य प्रसंशनीय रहेको बताउनु भयो । मानव अधिकार उल्लङ्घन तथा ज्यादती घटनाहरूको न्यूनीकरणका लागि स्थानीय तहसँग समन्वय र संवाद गर्न जरुरी रहेको बताउनुहुँदै यसको लागि आफूले सक्दो सहयोग गर्ने सहायक सिडिओ घिमिरेले बताउनु भयो ।
पत्रकार राधेश्याम कुशवाहाले शिक्षाको अधिकारसँग जोडिएका घटनाहरू छुटाउन नहुने र आगामि दिनहरूमा उक्त घटनाहरूको सङ्कलन र अभिलेखिकरण तर्फ ध्यान दिन ुझाव दिनु भयो ।
महिला मानव अधिकार रंक्षक सञ्जालका संयोजक रम्भा देवी झा ले उप–प्रमुख तथा न्यायिक समितिका प्रमुखको क्षमता अभिबृद्धि गर्न सके पीडितले सहज र छिटो न्याय पाउन सक्नेमा जोड दिनु भयो ।
महिला हिंसा, बालविवाह, बहुविवाह, बलात्कार तथा बलात्कार प्रयास, दाइजो, कुटपिट तथा घरेलु हिंसा लगायतका घटनाहरू न्यूनीकरण गर्नमा इन्सेकको एकल प्रयासबाट मात्र सम्भव नरहेकोले हामी एक भइ लाग्नुपर्ने नागरिक समाजका महासचिव शिवचन्द्र चौधरीले बताउनु भयो ।
समाजमा दबाइएका मानव अधिकार उल्लङ्घनका घटनाहरू इन्सेकको सहयोगमा हामी कहाँ आउने गरेको जिल्ला प्रहरी कार्यालयका बालिसटर इन्स्पेक्टर सिंहले बताउनु भयो । इन्सेकले गर्दै आएका कार्यक्रमहरू हृदयदेखि नै धन्यवाद योग्य रहेको जिल्ला समन्वय समितिका सभापति कौशलकिशोर सिंहले जानकारी दिनु भयो ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले विगतलामो समयदेखि प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तक एउटा सामान्य पुस्तक मात्र नभएर हाम्रो समाजको मानव अधिकार अवस्थाको यथार्थ चित्रण भएको मानव अधिकार रक्षक संजालका अध्यक्ष मुकेश मिश्रले बताउनु भयो ।




इन्सेक रौतहट प्रतिनिधि गौरी न्यौपानेका अनुसार ०८० पुस १७ देखि २०८१ पुस ३ गते सम्ममा बलात्कार, यौन दुर्व्यवहार, वैवाहिक बलात्कार, जातिय विभेद, कथित बोक्सिको आरोप, कुटपिट, अमानवीय व्यवहार, गोलि प्रहार, परिवारजनबाट हत्या, अपहरण तथा शरीर बन्धक तथा बलात्कार, घरेलु हिंसा, आत्महत्या दुरुत्साहन लगायत ५ सय ६५ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यदतीका घटनाहरू अभिलेख गरिएको छ ।

कार्यक्रममा इलाका प्रहरी कार्यालयका डिएसपी राजन कार्कीले मानव अधिकार उलङ्घनका घटनाहरुको न्यूनीकरण गर्नको लागि सचेतनामूलक कार्यक्रम मात्र नभैइ मानिसमा भएको सोच र चिन्तन परिवर्तन हुनु पर्नेमा जोड दिनुभयो ।
आरडिसि नेपालका प्रतिनिधि सञ्जु खड्काले हिंसाका घटनाहरूको नियन्त्रणको लागि सम्बन्धीत निकायहरूले आ–आफ्नो स्थानबाट सचेतनामूलक कार्यक्रम र सडक नाटक कार्यक्रम गर्न सकिने बताउनुभयो ।
इलाका प्रशासन कार्यालयका प्रमुख रामसागर राय यादबले इन्सेकले प्रत्येक बर्ष प्रकाशन गर्ने वर्ष पुस्तकले घटना अभिलेखिकरणमा महत्वपूर्ण भुमिका खेलेको बताउनुभयो ।
गरुडा नगरपालिकाका उपप्रमुख पुनम चौधरीले नागरिक र राजनीतिक अधिकारसँगै सामाजिक, सास्कृतिक र वातावरणीय अधिकारका विषयवस्तुलाई पनि यस पुस्तकले महत्वपूर्ण स्थान दिनेछ भन्नु भयो ।
कार्यक्रममा रोयम नेपाल, गुजरा युवा क्लब, स्वास्थ्य शाखा प्रमुख, उद्योग वाणिज्य संघ, नागरिक समाज र सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

