नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व जिल्लामा वार्षिक समीक्षा कार्यक्रम सम्पन्न रोल्पामा सम्पन्न गरिएको छ ।

समीक्षा कार्यक्रममा इन्सेक रोल्पा जिल्ला प्रतिनिधिले जिल्लाको समग्र मानव अधिकारको अवस्था र इन्सेकले एक वर्षमा गरेका घटनाहरूको सार्वजनिकीकरण गर्नुभएको थियो । इन्सेक रोल्पाको विगत एक वर्षको अभिलेख अनुसार जिल्लामा अभिलेखीकरण भएका घटनाहरू जसमा हत्याका चार ओटा, यौन दुर्व्यवहारका चार ओटा, घाइतेका एक ओटा, बालविवाहका एक ओटा र घरेलु हिंसाका ५२ ओटा घटनाहरू रहेका छन् ।
यस्तै जिल्ला कारागार कार्यालय रोल्पाका कार्यालय प्रमुख यामलाल वली, जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रोहित कुमार शाही, मानव अधिकार सचेतन केन्द्र (हुरेक) नेपाल रोल्पाका कोषाध्यक्ष सुभद्रा रेग्मी, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष खुविना सुनारी मगर लगायत जिल्ला स्थित अधिकारकर्मी,सञ्चालकर्मीहरुको उपस्थिति रहेको थियो ।

जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी खिमबहादर रायमाझीले जिल्लामा हुने मानव अधिकार र सामाजिक न्यायको क्षेत्रमा सम्पूर्ण निकाय ऐकबद्ध भएर लाग्नु पर्ने बताउनु भयो । उहाँले साथै सार्वजनिक गरिएका मध्यका केही घटनाहरू छुट्न गएकोमा त्यस्ता घटनालाई पनि पुनः सङ्कलित गरी इन्सेकको वर्ष पुस्तकमा समावेश गर्नुपर्ने बताउनु भयो । वर्ष पुस्तकमा रोल्पाको उपस्थिति मजबुत हुन पर्ने समेत उहाँले उल्लेख गर्नुभयो ।
यस्तै कार्यक्रमका अध्यक्ष समेत रहेका इन्सेक साधारण सदस्य घनस्याम आचार्यले इन्सेकको बारेमा समेत जानकारी गराउँदै जिल्लाभर भएको मानव अधिकार उल्लङ्घनका घटनाहरू सङ्कलनमा सहजीकरण गरी सहयोग गर्न सम्पूर्ण सहभागिहरूलाई आग्रह गर्नुभयो । कार्यक्रममा सहभागिहरूले समीक्षामा राखिएका मानव अधिकार उल्लङ्घनका घटनाको सन्दर्भमा आ–आफ्ना धारणा राखेका थिए ।
