INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को लागि सङ्कलित घटनाहरुको वार्षिक समीक्षा तथा तनहुँ जिल्लाको मानव अधिकारको अवस्थाको बारेमा अन्तरक्रिया कार्यक्रम पुस ५ गते दमौलीमा सम्पन्न भयो । वर्ष पुस्तकको लागि सङ्कलित घटनाहरुको बारेमा सरोकारवाला निकायको सुझाव सङ्कलन गर्ने उद्देश्यले आयोजना गरिएको थियो ।

photo20241221tanahu (1)

इन्सेकको तथ्याङ्क अनुसार तनहुँमा सन् २०२४ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका ७१ ओटा घटनामा ७१ जना पीडित भएका छन् । सो कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराईले सन् २०२४ मा तनहुँमा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरु सार्वजानिक गर्नु भएको थियो ।

photo20241221tanahu (2)

यो अवधिमा भएको ७१ ओटा मानव अधिकार उल्लङ्घनका घटनामा ६७ जना महिला र चार जना पुरुष पीडित भएका छन् । जसमा घरेलु हिंसातर्फ २८ ओटा घटना भएका छन् । त्यस्तै बलात्कार, बलात्कार प्रयास र यौनजन्य दुर्व्यवहवारतर्फ ३४ ओटा घटना भएका छन् । बेचबिखनमा एक, हत्याका ६ र कुटपिटका  दुई ओटा घटना भएका छन् ।

photo20241221tanahu (3)

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी श्याामकृष्ण थापाले सरकारले मानव अधिकारको उल्लङ्घन गर्ने नभई संरक्षण गर्ने बताउनु भयो । इन्सेक जस्ता मानव अधिकार सङ्घसंस्थाले राज्यलाई मानव अधिकार कार्यान्वयनका लागि समयसमयमा खबरदारी गरिरहनु पर्ने उहाँले बताउनु भयो । सबैले कानुनको पालना र सम्मान गर्ने हो भने मानव अधिकारको संरक्षण हुने प्रजिअ थापाले बताउनु भयो ।

photo20241221tanahu (4)

राज्यले कानुन कार्यान्वयनको क्रममा कसैलाई पनि भेदभाव नगर्ने भन्दै प्रजिअ थापाले उजुरी परेको घटनाका सबै पीडितले न्याय पाउने वातावरण बनाउने बताउनु भयो । पछिल्लो समय सामाजिक सञ्जालको गलत प्रयोगको कारण हिंसाका घटनामा बृद्धि भइरहेको उहाँले बताउनु भयो । मानव अधिकारको संरक्षण र सम्बर्द्धनको लागि इन्सेकको भुमिका महत्वपुर्ण रहेको भन्दै प्रजिअ थापाले मानव अधिकारको रक्षाको लागि इन्सेकले आफ्नो भुमिका विगतको भन्दा अझ प्रभावकारी बनाउनु पर्ने बताउनु भयो ।

photo20241221tanahu (5)

जिल्ला प्रहरी कार्यालयका एसपी वीरेन्द्रबहादुर शाहीले मानव अधिकारको घटना राज्यसँग सम्बन्धित हुने भएकाले प्रहरीले मानव अधिकार हनन्का घटनामा शुन्य सहनशिलताको नीति लिएको बताउनु भयो । मानव अधिकारको संरक्षण र सम्बर्द्धनको लागि प्रहरीले विभिन्न स्थानमा सचेतनाको कार्यक्रम गर्दै आइरहेको बताउँदै उहाँले राज्य नै मानव अधिकारको मुख्य संरक्षक भएको भन्दै मानव अधिकार र मौलिक हकमा समावेश भएका अधिकारहरु नागरिकलाई उपलब्ध गराउनु राज्यको मुख्य दायित्व भएको उल्लेख गर्नु भयो ।

photo20241221tanahu (6)

प्रहरीले मानव अधिकारको उल्लङ्घन गर्‍यो भन्ने गुनासो आउन नदिने उहाँले प्रष्ट पार्नु भयो । उहाँले घरेलु हिंसा अन्त्यका लागि र मानव अधिकारको प्रत्याभूतिका लागि कानुन बमोजिम काम गर्ने प्रतिबद्धता जनाउनु भयो । इन्सेकले मानव अधिकारको संरक्षण र सम्बर्द्धनमा राज्यलाई सहयोग गर्दै आएको उहाँको भनाइ थियो ।

photo20241221tanahu (7)

नेकपा एमाले जिल्ला कमिटीका उपाध्यक्ष राजेश्वर ढकालले मानव अधिकारको विषयलाई इन्सेकले राम्रोसँग उठान गरेको बताउनु भयो । इन्सेकले उपलब्ध गराएको तथ्याङ्क सहितको प्रतिवेदनले राजनीतिक पार्टीलाई पनि आफ्नो बैठकहरुमा छलफल गर्ने आधार हुने उहाँको भनाइ छ । इन्सेकको प्रतिवेदनले जिल्लाको मानव अधिकारको अवस्थाको बारेमा प्रष्ट हुने भन्दै उहाँले मानव अधिकारको विषय विश्वव्यापी र सबैको लागि भएको हुँदा राज्यले यसमा विभेद गर्न नहुने बताउनु भयो । उहाँले मानव अधिकार हननका घटना निरुत्साहित गर्न पार्टीको तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता जनाउनु भयो ।

photo20241221tanahu (8)

नेपाली कांग्रेसका जिल्ला कार्य समिति सदस्य सिर्जना तिवारीले मानव अधिकारको संरक्षणको लागि नेपाली कांग्रेस सधैँ प्रतिबद्ध रहेको बताउनु भयो । लक्षित सुदायमा मानव अधिकारप्रति सचेतना जगाउन सकेमा मानव अधिकारको संरक्षण र सम्बर्द्धन हुने उहाँले बताउनु भयो । उहाँले मानव अधिकारको संरक्षणमा इन्सेकले पुर्‍याएको योगदान महत्वपुर्ण रहेको बताउनु भयो ।

photo20241221tanahu (9)

नेपाल पत्रकार महासङ्घ तनहुँका अध्यक्ष डिपी अधिकारीले सञ्चारकर्मीहरुले पनि नागरिकको मानव अधिकारको सम्मान गर्दै मानव अधिकार संरक्षण हुने गरी कलम चलाउने बताउनु भयो । इन्सेकको प्रतिवेदनले सञ्चार माध्यमलाई जिल्लाको मानव अधिकारको अवस्थाको बारेमा तथ्याङ्क विश्लेषण गर्न सहयोग पुग्दै आएको अधिकारीले बताउनु भयो । महिला मानव अधिकार रक्षक सञ्जालकी अध्यक्ष कल्पना पौडेलले मानव अधिकार हनन् हुने प्रवृत्ति विगतको भन्दा फरक भएको भन्दै सामाजिक सञ्जालको गलत प्रयोग तथा बढ्दो दुर्व्यसनीले पनि महिलाहरु बढी पीडित हुने गरेको बताउनु भयो । मानव अधिकार एलायन्सकी अध्यक्ष सरस्वती सिग्देलले शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका विषयलाई पनि मानव अधिकार वर्ष पुस्तकमा समावेश गर्नु पर्ने बताउनु भयो ।

अन्य

भिडियो