INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ प्रकाशन पूर्व वार्षिक समीक्षा

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कपिलवस्तुको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ का लागि सङ्कलन गरिएका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम मङ्सिर ४ गते तौलिहवामा सम्पन्न गरिएको  छ ।

कार्यक्रममा प्रदेश ५ का सांसद शहसराम यादवले इन्सेकले विगतदेखि मानव अधिकारको घटनाहरूको सङ्कलन गरी वर्ष पुस्तक मार्फत नेपालको मानव अधिकारको अवस्था प्रस्तुत गर्ने काम गरेको बताए ।

उनले नागरिकका अधिकार तथा आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारका विषयमा समेत प्रतिवेदनमा उल्लेख गरिएको भन्दै बनेका कानुन कार्यन्वयनमा जोड दिए ।

पहुँच नभएका पछाडि पारिएका नागरिकहरूको आवाज पनि मानव अधिकारकर्मीले उठाउनु पर्ने भन्दै वर्ष पुस्तकका समावेश गर्न सुझाव दिए ।

यादवले शिक्षामा दरबन्दीको अभाव रहेको निशुल्क शिक्षा भने पनि विभिन्न बहानामा शुल्क लिने काम भएकोले त्यस्ता विषयवस्तु पनि समेटन आग्रह गरे ।

राष्टिय मानव अधिकार आयोग प्रदेश ५ का प्रमुख पवनकुमार भट्टले इन्सेकले देशव्यापी रूपमा गरिरहेको मानव अधिकारको अनुगमन र प्रलेख कार्य उदाहारणीय भएको बताए ।

नेपालमा विगत २६ वर्षदेखि मानव अधिकारको घटना तथा ज्यादतीका घटना समेटेर वर्ष पुस्तक प्रकाशन गर्ने एक मात्र संस्था इन्सेक भएको र वर्ष पुस्तकमा प्रकाशन हुने घटनाहरूको पूर्व समीक्षामार्फत केलाउने कार्य सरहानीय भएको बताए ।

उनले मानव अधिकारको विषयवस्तु गहन भएकाले सबै नागरिक सम्मानित र स्वतन्त्र र मर्यादित रूपमा बाँच्न पाउनु मात्रै नभइ स्वच्छ वातावारणमा बस्न पाउनु, विकासको अधिकार अनुभूति गर्न पनि मानव अधिकार भएको बताए ।

आप्रवासी कामदारहरूको हक अधिकारका विषयाम स्वच्छ वातावरण, मिसावट रहित खाना, पोषणका कुरा पनि समेटनु पर्ने सुझाव दिए । भट्टले स्थानीय तहमा न्यायिक समितिले गरेका निर्णय र प्रकृयाको समेत अनुगमन तथा अवस्था वर्ष पुस्तकमा समावेश गर्न सुझाव दिए ।

सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालले वर्ष पुस्तक मानव अधिकारको दस्तावेज भएकोले यसमा प्रकाशन हुने कुरा सत्यतथ्य हुनु पर्ने सुझाव दिए ।

जिल्ला सरकारी वकिल कमल पन्थीले द्वन्द्वकालमा मानव अधिकारको अवस्थाका बारे जोखिम मोलेर भए पनि वर्ष पुस्तक प्रकाशन हुने गरेको स्मरण गरे । जिल्ला प्रहरी कार्यालयका डिएसपी रवि रावलले छुटेका घटनाहरू प्रहरीसँग समन्वय गरी सङ्कलन गर्न सुझाए ।

सञ्चारिका समूह प्रदेश ५ की अध्यक्ष पार्वती पाण्डेले मानव अधिकारका सवालमा घटना सङ्कलन गर्ने, घटनाको अनुगमन गर्ने अभिलेख राख्ने एउटा मात्र संस्था इन्सेक भएको बताइन् । उनले बालविवाह र स्वास्थ्य उपचार नपाएका घटना छुटेकोले समावेश गर्न सुझाव दिइन् ।

समीक्षा कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि नन्दराम पौडेलले सन् २०१८ जनवरीदेखि हालसम्म घरेलु हिंसाका १ सय ३२, बलात्कारका आठ, बलात्कार प्रयासका चार, मानव बेचबिखनका नौ, अपहरण पछि हत्याको एक, कथित बोक्सी आरोपमा दुर्व्यवहारको एक, जातीय छुवाछुतको एकलगायत १ सय ६० ओटा घटना समेटिएको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

1

1

1

1

1

1

नन्दराम पौडेल

अन्य

भिडियो