अनौपचारिक क्षेत्र सेवा केन्द्र ( इन्सेक ) को आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम असार २८ गते फिदिममा सम्पन्न गरिएको छ ।
नेपाल पत्रकार महासङ्घ, फिदिम शाखाको सभाहलमा आयोजना गरिएको समीक्षा कार्यक्रममा जिल्लाले सन् २०२४ जनवरी देखी जुलाई ६ ( ६ महिना ) सम्म अभिलेख गरेको २७ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरू प्रस्तुत गर्नु भएको थियो ।
समीक्षा कार्यक्रममा प्रस्तुत घटनाहरुमा हत्याका तीन ओटा, हत्या प्रयासका ६ ओटा, अभद्र व्यवहारका पाँच ओटा, बलात्कारका ६ ओटा, बलात्कार प्रयासका दुई ओटा, बहुविवाहका तीन ओटा, साइवर क्राइमका एक ओटा र यौन दुर्व्यवहारका एक ओटा गरी २७ ओटा घटनाहरूमाथि सरोकारवालबिच समीक्षा गरिएको छ ।
समीक्षा कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति पाँचथरका प्रमुख रामराज आङदेम्बेले मानव अधिकार उल्लङ्घनका घटना यसका साथै मादक पदार्थ सेवन र आत्महत्याजस्ता घटनाहरू दिनानुदिन बढी रहेको बताउनुभयो । यी र यस्ता घटनाहरू न्यूनीकरण गर्न स्थानीय सरकार, राजनीतिक दल, प्रहरी प्रशासन सबैले आ-आफ्नो क्षेत्रबाट पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले इन्सेकले अभिलेख राख्ने तथ्याङ्कले जिल्लाको मानव अधिकारको अवस्था प्रष्ट पार्ने हुँदा इन्सेकले प्रशंसनीय कार्य गरेको बताउनुभयो । यी घटनाहरू बाहेक लुकेका,लुकाइएका घटनाहरूलाई पनि इन्सेकले उजागर गर्न पर्ने सुझाव दिनु भयो ।
समीक्षा कार्यक्रममा स्थानीय सरोकारवाला,सुरक्षाका प्रतिनिधि,जिल्लास्थित सरकारका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि र पत्रकारहरूको उपस्थिती थियो ।


