सल्यानमा पछिल्लो समय परिवारका सदस्यबाट नै महिला असुरक्षित हुने गरेको पाइएको छ । इन्सेक सल्यानले मङ्सिर ४ गते सार्वजनिक गरेको तथ्याङ्क अनुसार जिल्लामा बलात्कार, बलात्कारको प्रयास र यौन दुर्व्यवहारका घटनामा परिवारका सदस्य संलग्न भएका घटना उल्लेख्य मात्रामा बृद्धि भएको पाइएको हो ।
नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ का लागि जिल्लामा सङ्कलन गरिएका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रममा इन्सेक सल्यान प्रतिनिधि मिना बुढाथोकीले जिल्लामा एक वर्षमा भएका घटनालाई केलाउँदा घरपरिवार, आफन्तबाट नै महिला तथा बालिका असुरक्षित हुने गरेको पाइएको बताइन् ।

यस वर्ष जिल्लामा बलात्कार र बलात्कार प्रयासका १२ ओटा घटना भएका छन् । ‘गत वर्ष १५ ओटा घटना भएका थिए । तर, विगत १० महिनाको अवधिलाई हेर्ने हो भने परिवारकै सदस्य, बुवाबाट छोरी, दाइबाट बहिनी, ससुराबाट बुहारी, काकाबाट भतिजीलाई बलात्कार तथा बलात्कारको प्रयास गरेका घटना गत वर्षको तुलनामा धेरै भएको पाइएको छ ।’-उनले भनिन् । इन्सेकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सात जना बालिका बलात्कार, बलात्कार प्रयास तथा यौन दुर्व्यवहारबाट पीडित भएका छन् ।
यस अवधिमा पाँच जना महिलामाथि बलात्कार तथा बलात्कार प्रयास भएको पाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ । यस्तै नागरिक तथा राजनीतिक अधिकार, सम्मानित रूपले बाँच्न पाउने अधिकार अन्तर्गत कैदीबन्दीले समस्या भोग्नु परेको घटना एक र हत्याका घटना दुई ओटा रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
यस अवधिमा परिवार तथा आफ्नै परिवारजनबाट तीन जनाले ज्यान गुमाएका छन् । यस्तै बहुविवाहका सात, घरेलु हिंसाका तीन, घर निकालाको एउटा घटना रहेको इन्सेकले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

महिला बेचबिखनका दुई, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार अन्तर्गत स्वास्थ्य सेवाबाट वञ्चित एक, धम्की/कुटपिट एक, गैरकानुनी गिरफ्तारी एक र शिक्षाको अधिकारबाट वञ्चित एउटा घटना यस अवधिमा भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले बालबालिका, महिला र ज्येष्ठ नागरिक विभिन्न क्षेत्रबाट समस्यामा पर्ने गरेको बताए । उनले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारलगायतका विभिन्न कारणले जिल्लामा मानव अधिकार उल्लङ्घनका घटना धेरै घट्ने गरेको बताए ।
उनले मानव अधिकारकर्मी, नागरिक समाज र पत्रकारको सक्रियतामा नै जिल्लामा हुने विभिन्न खाले घटनालाई नियन्त्रण गर्न सकिने बताए ।
मानव अधिकारसम्बन्धी भएका विभिन्न घटनामा कमी ल्याउन सबैले आ-आफ्नो क्षेत्रबाट पहल गर्नुपर्ने भन्दै उनले कानुनको पालना र कानुन बुझ्दै जाने हो भने पनि केही हदसम्म यस्ता खाले घटनामा कमी आउने बताए ।
मिना बुढाथोकी