INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ काे अर्धवार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि सुर्खेत जिल्लामा सङ्कलित घटनाका विषयमा अर्धवार्षिक समीक्षा कार्यक्रम असार १७ गते सम्पन्न भएको छ ।  अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक कर्णाली प्रदेश कार्यालयको आयोजनामा विगत ६ महिनाका घटनाहरूका विषयमा सरोकारवालाहरुसँग समीक्षा गरिएको छ ।

सन् २०२४ जनवरीदेखि (०८० पुस १६ गतेदेखि ०८१ असार १६) जुनसम्म सुर्खेतमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका सङ्कलित घटनामाथि त्रृटि सच्चाउने र छुटेका घटना समावेश गर्ने उद्देश्यले अर्धवार्षिक समीक्षा कार्यक्रम गरिएको हो ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का जिल्ला प्रतिनिधि जगतदल जनाला विकका अनुसार ६ महिनामा १ सय ३१ ओटा घटना सङ्कलन गरिएको जानकारी दिनुभयो । जसमध्ये दुईओटा राज्य पक्ष र १ सय २९ ओटा गैरराज्य पक्षबाट घटना भएका छन् । इन्सेकको अभिलेख अनुसार सुर्खेतमा यो ६ महिनामा सबैभन्दा धेरै महिला हिंसाका घटना बढी रहेका छन् । ६ महिनामा सुर्खेत जिल्लाभर ८३ ओटा घरेलु हिंसाका घटना अभिलेख भएका छन् । जसमध्ये ४६ ओटा मुद्दा मिलापत्र भएका छन् । बहुविवाहका तीन ओटा र बलात्कारका आठ ओटा घटना अभिलेख भएका छन् ।

यसैगरी जिल्लामा बालअधिकार हननका घटनामा समेत वृद्धि भएको पाइएको छ । विद्यालयमा कुटपिटको एक, बलात्कारका २३ ओटा, बालविवाह सम्बन्धी एक घटना भएको इन्सेकले अभिलेखिकरण गरेको छ ।

नागरिक तथा राजनीतिक अधिकारका घटना समेत पछिल्लो समय बढेको पाइएको छ । कुटपिट सम्बन्धी तीन ओटा घटना दर्ता भएकोमा राज्य पक्षबाट दुई र अन्य पक्षबाट एउटा घटना भएको इन्सेकको तथ्याङ्कले देखाएको छ । खुकुरी प्रहारबाट एउटा, धम्की तथा दुव्र्यवहारका दुई ओटा र शंकास्पद मृत्यु एक घटना रहेका छन् । जिल्लामा महिला हिंसाका घटना बढेको पाइएको छ । विभिन्न पेशा व्यवसायमा आवद्ध भएका महिलाहरू हिंसामा परेका छन् ।

कार्यक्रममा जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गंगाराम सुनारले संविधानले व्यवस्था गरेको हक अधिकारको समुचित प्रयोग गर्नुपर्ने बताउनुभयो । घटना न्युनीकरण पहिलो प्राथमिकतामा राखेर सरकारी तथा गैरसरकारी निकाय बढी उत्तरदायी बन्नुपर्ने औंल्याउनुभयो । उहाँले जनसङ्ख्या र भूगोलका आधारमा बजेट विनियोजन गर्नुपर्ने भन्दै तीन तहका सरकारले आफ्नो प्राथमिकताका क्षेत्र निर्धारण गरेर अगाडी बढ्नुपर्ने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले मानव अधिकारका क्षेत्र वृहत भएकाले उक्त विषयमा थप सेवा विस्तारमा सरकारले जोड दिएको बताउनुभयो ।  विद्युत, सडक, खानेपानीका सवालमा विशेष सुझावसहितका विवरण इन्सेकले ल्याउनुपर्ने उहाँले सुझाव दिनुभयो । घटना घट्न नै नदिनेतर्फ सबैले सहकार्य गर्नुपर्ने र समाजलाई सुसूचित बनाउनुपर्ने उहाँको भनाइ छ । सबैले आ–आफनो दायित्व पूरा गर्न लाग्नुपर्ने भन्दै स्रोत साधन अभावका कारण न्यायोचित रुपमा सेवा दिन सकस हुने गरेको उहाँले औंल्याउनुभयो ।

राष्टिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालयका प्रमुख लोकनाथ बास्तोलाले नागरिक तथा राजनीतिक अधिकारका पाटोलाई विशेष प्राथमितामा राखिएको बताउनुभयो । उहाँले इन्सेकको वर्ष पुस्तक समाजको ऐना रहेको भन्दै प्रशंसा गर्नुभयो । पछिल्लो समय आत्महत्याको दर बढिरहेकाले वर्षभरीमा सुर्खेत जिल्लाभर कस्ता घटना भएका छन् भन्ने विषयको खोजीमा इन्सेकले जोड दिनुपर्ने बताउनुभयो । उहाँले मानव अधिकार कुन कुन क्षेत्रमा कहाँ–कहाँ कमजोरी छ भन्ने विषयमा मानव अधिकार पुस्तकले देखाएको प्रमुख बास्तोलाले बताउनुभयो । उहाँले नागरिकका आधारभूत आवश्यकता पहिचानमा जोड दिनुपर्ने र स्वास्थ्य, शिक्षा र रोजगारीका विषयमा थप पहल गर्नुपर्ने, समस्या पहिचान गर्नुपर्ने भन्दै पीडितको गोपनियतामा ख्याल गर्नुपर्ने सुझाव दिनुभयो ।

जिल्ला न्यायधिवक्ता नविन भट्टले जिल्लामा दैनिक मुद्दाको सङ्ख्या बढिरहेको बताउनुभयो । उहाँले पीडितको न्यायको लागि आफू सदैव दत्तचित्त भएर काम गर्ने गरेको बताउनुभयो ।

इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले मानव अधिकार वर्ष पुस्तक प्रकाशनको मुख्य उद्देश्यका बारेमा जानकारी दिँदै कार्यक्रमबाट आएका विषयहरुलाई प्रष्ट पार्नुभएको थियो ।
उच्च बार एशोसियसनका अध्यक्ष दुर्गा सापकोटाले पछिल्लो समय नागरिकका आधारभूत आवश्यकतासँग जोडिएका विषय मानव अधिकार हनन्का घटना हुने गरेको बताउनुभयो । उहाँले सार्वजनिक सरोकारका विषय विद्युत, खानेपानी, शिक्षा, स्वास्थ्य लगायतका विषय उठान गर्नुपर्नेमा जोड दिनुभयो ।

मानव अधिकार रक्षक सञ्जाल कर्णाली प्रदेशका संयोजक पीताम्बर ढकालले गत वर्षभन्दा मानव अधिकार हनन् र ज्यादतिका घटनाहरु बढिरहेको बताउनुभयो । पछिल्लो समय एकतर्फी सम्बन्ध विच्छेदका घटना बढेको नवज्योति केन्द्रकी फोकल पर्सन जरमाया बाठाले बताउनुभयो । उहाँले सम्बन्ध विच्छेदका मुदा दर्ता गर्न सहज भएसँगै महिला थप पीडित भएको भन्दै अंश नपाउने र महिलाहरु थप पीडामा हुने गरेको बताउनुभयो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष ललित बसेलले मानव अधिकार अन्तर्गत सामाजिक, सांस्कृतिक र आर्थिक अधिकारलाई समेत बढी जोड दिनुपर्ने बताउनुभयो । एड्भोकेसी फोरमका संयोजक राजेन्द्र भारतीले मानव अधिकार हनन का घटनाहरु न्युनीकरण गर्न सबैको भूमिका महत्वपूर्ण रहने बताउनुभयो ।

समीक्षा कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका एसपी रुपेश खड्का, विभिन्न संघ संस्थाका प्रतिनिधि लगायत अधिकारसँग सरोकार राख्ने संघसंस्था, पत्रकार लगायत ३६ जनाको सहभागिता रहेको थियो ।
Photo20240701Surkhet (5)

Photo20240701Surkhet (11)

Photo20240701Surkhet (10)

Photo20240701Surkhet (9)

Photo20240701Surkhet (7)

Photo20240701Surkhet (3)

Photo20240701Surkhet (8)

 

Photo20240701Surkhet (6)

Photo20240701Surkhet (2) Photo20240701Surkhet (1)

अन्य

भिडियो