नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व कपिलवस्तुमा अर्ध वार्षिक समीक्षा कार्यक्रम ०८१ असार १६ गते सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधिले सन् २०२४ को जनवरीदेखि जुनसम्म सङ्कलन भएका मानव अधिकार उल्लङ्घनका २ सय २७ ओटा घटनाहरू प्रस्तुत गर्नु भएको थियो ।
जसमा बालबालिका सम्बन्धी बलात्कारका १३ ओटा, यौन दुर्व्यवहारका आठ ओटा, महिला सम्बन्धी बलात्कार एक ओटा र बलात्कार प्रयास तीन ओटा रहेका छन् । मानव बेचबिखन तथा ओसार पसारका तीन ओटा, हत्या एक ओटा, बहुविवाह तीन ओटा, आत्महत्या दुरुत्साहन दुई ओटा, अपहरण एक ओटा र घरेलु हिंसाबाट १ सय ९२ जना पीडित रहेको इन्सेकले अभिलेख गरेको छ ।
इन्सेक कपिलवस्तुले माथि उल्लेखित घटना बाहेक जिल्लामा ज्येष्ठ नागरिकलाई राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने नाममा हैरानी खेपेको, वैदेशिक रोजगारीमा समस्या, स्वास्थ्य क्षेत्रमा समस्या, बालविवाह, सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्ति तथा माहिला र बालिकामाथि सम्मानित र मर्यादित व्यवहार नभएको, किसानले समयमा मलखाद र वीउ नपाएको जस्ता समस्याहरू भएको, बैकिङ्ग कसुर र मिटर व्याजीकाका घटनाहरू रहेको छन् ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्यले इन्सेकले जिल्लाको मानव अधिकारको अवस्थाका विषयमा इन्सेकले गरेको कार्य महत्त्वपूर्ण रहेको बताउँदै कपिलवस्तुका जिल्लाका स्थानीय तहका अध्यक्षहरू बजेट ल्याउन नसकेको अहिलेसम्म पनि बजेट ल्याउन नसकेको अवस्था रहेको र जति सुझाव दिँदा र निर्देशन गर्दा पनि अटेर गर्ने समस्या रहेको बताउनु भयो । उहाँले सरकारले विद्यालयहरूलाई स्थानीय खाजा खुवाउन भनेपनि अनुगमन गर्न जाँदा विराटनगरमा उत्पादन गरेको खाजा हाम्रा विद्यार्थीहरू खाएको अनुगमनमा भेटिएको बताउनु भयो ।
प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले इन्सेकले जिल्लाको समग्र मानव अधिकारको अवस्थाका विषयमा सबैलाई जानकारी गराएको भन्दै जिल्लामा आर्थिक सामाजिक तथा साँस्कृतिक अधिकारको सवालमा एकदमै कमजोर रहेको बताउनु भयो ।

