नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि सङ्कलन गरिएको घटनाहरूको प्रकाशन पूर्व अर्ध वार्षिक समिक्षा ०८१ असार ११ गते गुल्मीमा सम्पन्न भएको छ ।
कार्यक्रममा इन्सेक गुल्मी जिल्ला प्रतिनिधिले अर्ध वार्षिक रूपमा सङ्कलन भएका बलात्कार प्रयास र यौन दुर्व्यवहारका तीन ओटा, कुटपिट तथा झैझगडा १५ ओटा, झैझगडा गरेर मानसिक यातना दिएको चार ओटा, गाली गलौज र खान लगाउन नदिएको चार गरेर २३ ओटा घरेलु हिंसाका घटना प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा कारागार कार्यालय, गुल्मीका प्रतिनिधि ढालसिंह पुनमगरले कारागारको अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो । उहाँले २५ जनाको क्षमता भएको कारागारमा १ सय १७ जना हुँदा भएका संरचना अभाव र खानेपानी लगायतका समस्या विषयमा अवगत गराउनुभयो । साथै इन्सेकले हरेक फोरमहरू र वर्ष पुस्तकमा कारगारको बारेमा उठाइरहेको विषयप्रति खुसी प्रकट गर्नुभयो । मानव अधिकार तथा शान्ति समाज गुल्मीका सभापति ढुण्डिराज पोख्रेलले स्थानीय तह जवाफदेखि नहुँदा धेरै मानव अधिकारको विषय ओझेलमा परेको बताउनु भयो ।
निःशुल्क शिक्षा, स्वास्थ्य लगायतका विषय धेरै पटक आवाज उठाउँदा पनि दरबन्दी मिलान नहुने, सचेतना र समाज विकासका विषयभन्दा भौतिक निर्माणका विषयमा केन्द्रित हुने कारण आर्थिक सामाजिक अधिकारका विषयको उचित सम्बोधन नभएको पोख्रेलले बताउनु भयो ।
रेसुङ्गा नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख कल्पना पाण्डेयले न्यायिक समिति भए पनि सदरमुकाम भएकाले धेरै जना प्रहरीकोमा जाने गरेका बताउँदै आफूहरूले सडक बालबालिकाको विषय नीति तथा कार्यक्रमा समावेश गरेकाले केही न केही उपलब्धि हुने बताउनु भयो । दलित महिलासङ्घ अध्यक्ष कमला बरालले जनप्रतिनिधिहरू समेत जातीय छुवाछुतको विषय लुकाएर बोल्न नसक्दा मुद्दाहरू कमजोर हुँदै गएको बताउनु भयो ।
साथै बरालले बजारमा गुणस्तरहिन वस्तुहरूको बिक्री बढेकाले बजार अनुगमनलाई ध्यान दिन प्रशासन कार्यालयको ध्यानाकर्षण गर्नुभयो । जिल्ला प्रहरी कार्यालयका एसपी राजन भुजेलले प्रहरीले सबै काम कारबाहीमा मानव अधिकारको विषयलाई प्रमुख प्राथमिकता दिएको बताउँदै सबै पक्ष सचेत र जानकार हुनुपर्ने बताउनु भयो ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले शिक्षा र स्वास्थ्यका क्षेत्रमा इन्सेकको प्रतिवेदनमा उठेका केही विषय निकै महत्त्वपूर्ण भएकाले तत्काल समाधानको पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

