नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व दोलखामा वार्षिक समीक्षा कार्यक्रम ०८० मङ्सिर ३० गते सम्पन्न भएको छ ।
कार्यक्रममा इन्सेक दोलखा जिल्ला प्रतिनिधिले सन् २०२३ मा सङ्कलन भएका मानव अधिकार उल्लङ्घनका घटनाहरू प्रस्तुत गर्नु भएको थियो ।
उक्त कार्यक्रममा उहाँले सन् २०२३ को अवधिमा जिल्लामा यस वर्ष बलात्कारका ६ ओटा, यौन दुर्व्यवहारका १४ ओटा, बलात्कार प्रयासका दुई ओटा, वैवाहिक बलात्कारको एक ओटा, हत्या दुई ओटा, हत्या प्रयासका दुई ओटा घटना अभिलेखिकरण भएको प्रस्तुत गर्नुभयो । सोही अवधिमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक कार्यालयका अनुसार २० ओटा उजुरी दर्ता भएकोमा सात ओटा कानुनी प्रक्रियामा गएको, आठ ओटा मिलापत्र भएको, चार ओटा उजुरी दिएर सर्म्पकमा नआएको र एक ओटा काम भइरहेको विवरण प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य चिरञ्जिवी मास्केले इन्सेकले सङ्कलन गरेका र जिल्लामा दर्ता भएका घटनाले मुलुकमा लोकतान्त्रिक गणतन्त्रको अनुभूति आम नागरिकले महसुस गर्न नपाएको र आगामी दिनमा यस्ता खालका जघन्य मानव अधिकारका घटना न्यूनीकरण गर्न सबै पक्षले थप जिम्मेवारी बोध गरी घटना कम गर्न सम्भावित उपाएको खोजीमा लाग्न आग्रह गर्नुभयो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक कार्यालयका इन्स्पेक्टर जीवन श्रेष्ठले यौन दुर्व्यवहारका घटना धरै सङ्ख्यामा भएको बताउनु भयो । उहाँले यस्ता घटना दुखद भएको र यसको कारण खोजी गरी न्यूनीकरणका लागि तीन ओटै तहका सरकारले र अन्य सरोकारवाला पक्षले सचेतिकरण र प्रचलित कानुन बारे सचेतिकरण कार्यक्रम गर्न ढिला गर्न नहुने बताउनु भयो ।
महिला अधिकारकर्मी सिर्जना कार्कीले मानव अधिकारका घटना न्यूनीकरणका लागि सचेतना कार्यक्रम र मानव अधिकारका घटनाका दोषीलाई कडा कारबाही गरी मानव अधिकारमैत्री समाज निर्माणमा सबैको हातेमालो आवश्यकतामा जोड दिनुभयो ।
नेपाल बार एसोशियसन दोलखाका प्रतिनिधि देबराम बुढाथोकीले पीडित पक्षले समयमा न्याय नपाएको बर्तमान अवस्था रहेको भन्दै छिटो र सर्बसुलभ न्याय पाउनु पर्ने समेत मानव अधिकारको क्षेत्र पर्ने भएकोले त्यसतर्फ छलफलमा ध्यान दिनुपर्ने बताउनु भयो ।
कार्यक्रममा नागरिक समाजका प्रतिनिधि, हुराडेक नेपालका प्रतिनिधि, पत्रकार महासङ्घका जिल्ला उपाध्यक्ष सिर्जन कुमार घिमिरे लगायतको उपस्थित रहेको थियो ।

