
इन्सेक सर्लाहीको आयोजनामा २०८० मङ्सिर २९ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि जिल्लामा सङ्कलन गरिएको मानव अधिकार उल्लङ्घन र ज्यादतिका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा गोष्ठी मलंगवामा सम्पन्न भएको छ ।
कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि बुधन साहले सर्लाही जिल्लामा सन् २०२३ को जनवरी देखि नभेम्वरसम्ममा राज्य पक्षबाट भएको मानव अधिकार उल्लङ्घनका घटना आठ ओटा, गैर राज्य पक्षबाट हत्या पाँच, यौन दुर्व्यवहार १०, बलात्कार २६, बलात्कार प्रयास २६, झडप तथा कुटपिट नौ, तोडफोड तीन, अपरिचित व्यक्तिबाट गोली प्रहार एक, अपहरण प्रयास दुई, मानव बेचविखन चार, जातीय विभेद पाँच, बहुविवाह नौ, दाइजोका कारण कुटपिट ६ र ३३ ओटा घरेलु हिंसा लगायतका घटनाहरू गरी जम्मा १४७ ओटा घटनाहरू सङ्कलन गरी प्रस्तु गरेका थिए ।
इन्सेकले गरेको मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको अभिलेख सरहानीय रहेको बताउदै जिल्ला प्रशासन कार्यालय मलंगवाका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले इन्सेक प्रतिनिधिले जिल्ला भरिको स्थानीय तहसम्म विशेष गरी न्यायिक समितिहरूमा यस्ता घटनाहरूको न्यूनिकरण बारे न्यायपालिका तथा जनता समक्ष सचेतना कार्यक्रम गर्न सल्लाह समेत दिनु भयो ।
पत्रकार राधेश्याम कुशवाहाले जिल्लामा भएका कतिपय मानव अधिकार उलङ्घनसँग जोडिएका घटना खास गरी शिक्षाको अधिकारका घटनाहरू छुटेकोले नछुटोस भनि शिक्षाको अधिकारसँग जोडिएका घटनाको सङ्कलन, अभिलेखिकरण तथा न्यूनीकरण तर्फ ध्यान दिन सल्लाह–सुझाव दिनु भयो ।
उक्त कार्यक्रममा, न्यायिक समितिको क्षमता अभिबृद्धि गर्न सकेमा पीडित पक्षले सहज तथा छिटोछरितो न्याय पाउन सक्ने साथै पत्रकार, महिला, बालबालिका तथा मानव अधिकार संरक्षक सञ्जालका सम्पूर्ण पदाधिकारीहरूसँग, तथा संघसंस्थाहरूमा ऐक्यबद्ध भई काम गर्नुपर्ने ओरेक नेपालकी जिल्ला संयोजक देव कुमारी महराले बताउनु भयो ।
इन्सेकले गरेका कार्यक्रमहरू एकदमै सराहनीय रहेको र जिल्लामा हुने गरेका महिला हिंसा, बालविवाह, बहुविवाह घरेलु हिंसा लगायतका घटनाहरू न्यूनीकरण गर्न पहल गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला अध्यक्ष श्री कमलेश साहले बताउनु भयो ।
इन्सेकको वार्षिक समीक्षा सन्तोष जनक रहेको र मानव अधिकारकर्मीहरू तथा मानव अधिकारको क्षेत्रमा कार्य गर्ने सङ्घ–संस्थाहरूले दोषीलाई कानुनको दायरा भित्र तथा पीडितलाई न्यायको प्रक्रियामा ल्याउनको लागि हामिलाई पनि सहजिकरण गरेको जिल्ला प्रहरी कार्यालयका एसपी प्रविण धितालले बताउनु भयो । कतिपय घटना हामी कहाँ नआउने गरेको पनि उहाँले बताउनु भयो ।
इन्सेक नेपालले गर्दै आएका कार्यक्रमहरू हृदयदेखि नै धन्यवाद योग्य रहेको र यस्ता घटना न्यापालिकामा पनि बढी मात्रामा रहेको जिल्ला समन्वय समितिका उप–सभापति जितेन्द्र कुशवाहाले जानकारी दिनु भयो ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि गरेको पूर्व समीक्षा कार्यक्रम एकदम सराहनीय रहेका बताउदै आफ्नो पालिकामा भएको महिला हिंसा तथा घरेलु हिंसा र बालविवाह जस्ता घटनाहरू हुन नदिन मलंगवा नगरपालिकाका उप–मेयर सकुन्तला देवी साहले प्रतिबद्धता जनाउनु भयो ।
