
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि सिरहामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व ०८० मङ्सिर २९ गते सिरहामा वार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ ।
इन्सेक सिरहाका अनुसार सन् २०२३ को अवधिमा महिला र बालबालिका हिंसाका घटना बढी अभिलेख गरिएको छ । इन्सेकको तथ्याङ्कमा यो वर्षमा १०२ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना सङ्कलन गरिएको छ ।
इन्सेक सिरहाका प्रतिनिधि दुर्गा परियारले प्रस्तुत गर्नु भएको प्रतिवेदनमा एक वर्षको अवधिमा परिवारजनबाट पाँच महिला र एक पुरुषको हत्या, बलात्कारको ३६ ओटा घटनामा २१ बालिका र १५ महिला गरी ३६ जना पीडित भएको तथ्याङ्क प्रतिनिधि परियारले प्रस्तुत गर्नु भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य राजेन्द्र प्रसाद चौधरीले मानव अधिकारको क्षेत्रमा इन्सेक अग्रनी संस्थाको रुपमा स्थापित भएको र पीडितहरूको आवाजलाई न्यायीक प्रक्रियासम्म पुर्याउन सहयोग पुगेको बताउनु भयो । मानव अधिकारको सवालमा आफूले प्रदेश सभामा पनि आवाज उठाउने बताउनु भयो ।
इलाका प्रशासन कार्यालयका प्रमुख लिलाकान्त पौडेलले इन्सेकले मानवअधिकार वर्ष पुस्तक प्रकाशन गरेर सराहनीय काम गरेको बताउनु भयो । समाज, घर परिवारमा र न्यायीक समितिमै समाधान हुने मुद्दाहरू समाधान नहुदा प्रहरीको काममा बोझ थपिएकोले अनुसन्धान गर्नु पर्ने मुद्दाहरूमा ढिला हुने भएकोले सबै क्षेत्रले अआफ्नो दायित्व इमान्दारीका साथ पुरा गर्नु पर्ने बताउनु भयो ।
इलाका प्रहरी कार्यालय लहानका डिएसपी भोलाकुमार भट्टले मानव अधिकारको संरक्षणमा र उल्लङ्घनमा प्रहरीनै अग्र पङ्त्तिमा रहने बताउनु भयो । इन्सेकले ३५ वर्षदेखि मानवअधिकार वर्ष पुस्तक प्रकाशित गर्दै आएको र यसमा समावेश हुने सवालहरूले हामीलाई काम गर्न मार्ग दर्शकको रुपमा रहेको बताउनु भयो । न्यायीक समितिहरूले विश्वासको वातावरण बनाउन नसक्दा प्रहरीलाई कार्य बोझ रहे पनि हामीले काम गर्र्दै आएको बताउनु भयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका सदस्य महेश सिहं, सञ्चारकर्मी मणिलाल बि.क, सुदिप राउत, निर्मला दाहाल, एलिना हिगमाग, अधिकारकर्मीहरू, देवराज पोखरेल, अनिता चौधरी, उमेश बिसुन्के, मोहन पासवान, लहान नगरपालिकाको न्यायीक समितिकी सदस्य राकुमारी दास, जिल्ला समन्वय समिति सदस्य जानकी यादव लगायत सञ्चारकर्मीहरूले प्रतिवेदनमा टिप्पणी गर्नु भएको थियो ।
