अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम असार १३ गते धनगढीमा सम्पन्न भएको छ ।
सन् २०२३ जनवरीदेखि सन् २०२३ जुनसम्म कैलाली जिल्लामा भएका मानव अधिकार उल्लङ्घनका घटनाहरुको पुष्टि तथा पुनर्पुष्टि गर्ने र सरोकारवाला पक्षबाट सुझाव सङ्कलन गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको हो ।
इन्सेक प्रदेश संयोजक खडकराज जोशीले सन् २०२३ जनवरीदेखि जुन महिनासम्मको अवधीमा कैलाली जिल्लामा सङ्कलन गरिएका १ सय ८६ घटनामा १ सय ८२ महिला र ८ जना पुरुष गरी १ सय ९० जना पीडित भएकोे तथ्याङ्क प्रस्तुत गर्नुभएको थियो ।

उहाँले यस ६ महिनाको अवधीमा महिला अधिकारबाट १ सय ६१ जना पीडित भएका र घरेलु हिंसाबाट १ सय २० जना, बलात्कारबाट १७ जना, बलात्कार प्रयासबाट एक जना, यौन दुर्व्यवहारबाट एक जना, बेचविखनबाट तीन जना र बहुविवाहबाट १५ जना महिला पीडित भएको जानकारी गराउनु भयो ।
यसैगरी बाल अधिकारबाट २० जना पीडितमध्ये बलात्कारबाट १०, बेचविखनबाट दुई, यौन दुर्व्यवहारबाट सात र बाल विवाहबाट एक जना पीडित भएकोे र परिवारजनबाट दुई जना महिलाको हत्या तथा एक जना सुत्केरी महिलाको अस्पतालमा मुत्यु भएको तथा राज्यपक्षबाट दुई जना पीडित भएको इन्सेकले अभिलेख गरेको उहाँले बताउनु भयो ।
राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख हरी ज्ञवालीले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार र जातीय छुवाछुत, बालविवाह हुने सिमित क्षेत्र छनौट गरेर सम्बन्धित स्थानीय तहसँगको समन्वयमा अनुसन्धानात्मक अध्ययन तथा घटना बाहिर ल्याउने बिभिन्न अभियान सञ्चालन गर्नु पर्ने सुझाव दिनु भयो ।

जिल्ला कारागार, कैलालीका जेलर पदमराज तिमल्सिनाले कारागार भित्रका कैदीबन्दीहरुको आधारभूत मानव अधिकार संरक्षण र सम्बद्र्धनका सवाललाई उजागर गरिनु पर्ने बताउनु भयो ।
दलित महिला अधिकार मंञ्चकी अध्यक्ष सावित्रा घिमिरेले इन्सेकले प्रकाशन गर्ने वर्ष पुस्तक विश्वाशिलो स्रोतको रुपमा रहेकाले सङ्कलित घटनाहरुको अध्यावधिक सहित अघिल्लो वर्षको घटनाको परिणाम र विश्लेषणात्मक विवरण वर्ष पुस्तकमा समावेश गरिनु पर्ने सुझाव दिनु भयो ।
महिला मानव अधिकार रक्षक सञ्जालकी अध्यक्ष अम्बिका भण्डारीले समाजमा यथावत रहेको जातीय बिभेदका घटना बाहिर ल्याउन सम्यन्त्र बनाउनु पर्ने बताउनु भयो ।
