नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम असार १२ गते भोजपुरमा सम्पन्न गरिएको छ ।

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि पूर्व समीक्षा गरिएको हो ।
समीक्षा कार्यक्रममा इन्सेक प्रतिनिधिले सन् २०२३ को प्रथम ६ महिनामा जिल्लामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका ५९ ओटा घटना अभिलेख गरेको तथ्याङ्क सार्वजनिक गर्नु भएको छ । हत्याका एक, घरेलु हिंसाका ४७, महिला तथा बालिका बलात्कारका ६ र कुटपिटका पाँच ओटा घटना रहेका छन् ।
समीक्षा कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले समाजमा अझै पनि विभिन्न खालका हिंसा हुने गरेकोले यसतर्फ ध्यान दिन आवश्यक रहेको बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी सरदकुमार थापा क्षेत्रीले प्रहरीले समाजमा हुने अपराधिक घटना न्यूनीकरणमा भूमिका खेलिरहेको बताउनु भयो । उहाँले समाजमा मानव अधिकारका विषयमा केही चेतना आएको भएपनि महिला र बालबालिकामाथि हुने गरेको हिंसामा कमी नआएको बताउनु भयो ।
मानव अधिकार रक्षक सञ्जाल भोजपुर, अध्यक्ष लीलामाया तामाङले पछिल्लो समयमा विभिन्न क्षेत्रबाट मानवअधिकार हनन हुन नदिन भइरहेका प्रयासले समाजमा केही सकारात्मक भावनाको विकास भएको बताउनु भयो ।
समीक्षा कार्यक्रममा पत्रकार, मानव अधिकारकर्मीलगायतको सहभागिता थियो ।

