नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व अर्ध वार्षिक समीक्षा कार्यक्रम असार ९ गते फिदिममा सम्पन्न गरिएको छ ।

नेपाल मानव अधिकरा वर्ष पुस्तक २०२४ का लागि जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि सरोकारवालाबिच समीक्षा गरिएको छ ।
सन् २०२३ को जनवरीदेखि जुनसम्म अर्थात ६ महिनाको अवधिमा इन्सेकले जिल्लामा अभिलेखीकरण गरेका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका ११ घटना इन्सेक प्रतिनिधिले सार्वजनिक गर्नु भएको छ ।
इन्सेकले सार्वजनिक गरेको घटनामाथि र जिल्लाको समग्र मानव अधिकारको अवस्थाका बिषयमा समीक्षा गरिएको छ ।
इन्सेकले अभिलेख गरेका ११ ओटा मानव अधिकारसँग सम्बन्धित घटनामध्ये बाल अधिकार अन्र्तगत बलात्कारका चार ओटा, यौन दुर्व्यवहारको एक ओटा, आत्महत्या दुरूत्साहनको एक ओटा, महिला अधिकार अन्तरगत हत्याको एक ओटा, बहुबिबाहको तीन ओटा र कुटपिटको एक ओटा गरी ११ ओटा घटना माथि समीक्षा गरिएको छ ।
समीक्षा कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी गौरव ढुङ्गेलले मानव अधिकारका अन्य सवालहरूको पनि इन्सेकले अभिलेख समेट्न आवश्यक रहेको बताउनु भयो । उहाँले मानव अधिकार उल्लङ्घन र ज्यादतीका सँगै अपराधका घटनासमेत अभिलेखमा राख्न इन्सेकलाई सुझाव दिनु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी हरि खतिवडाले इन्सेकले आफ्नो ढाँचा अनुसारमात्र घटनाहरूको अभिलेखीकरण गरेका कारण थुप्रै घटनाहरू छुटेको बताउनु भयो । उहाँले इन्सेकलाई आफ्नो ढाँचा परिर्वतन गरी सबै खाले घटनाको अभिलेखीकरणका लागि सुझाव दिनु भएको छ ।
जिल्ला समन्वय प्रमुख रामराज आङदेम्बेले निर्दोष नागरिकसमेत फसेको अवस्था देखिन्छ त्यसैले प्रहरीले राम्रो अनुसन्धान गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले मानव अधिकार र न्यायालय एकअर्काका परिपूरक भएकाले अदालतले न्याय सम्पादन गर्दा मानव अधिकारको सवाललाई प्राथमिकता दिन आवश्यक रहेको बताउनु भयो ।
मानव अधिकार तथा सामाजिक न्याय मञ्च एलायन्स पाँचथरका अध्यक्ष जयप्रकाश केरुङले प्रहरीमार्फत अनुसन्धानका क्रममा र अदालतमा विचाराधीन अवस्थामा रहेका मुद्दाहरूलाई मानव अधिकार उल्लङ्घनका घटनाको सूचीमा राख्न नमिल्ने बताउनु भयो ।
समीक्षा कार्यक्रम मानव अधिकार चेतना र विकास केन्द्रका (हुकोडेक) का कार्यकारी निर्देशक तथा मानवअधिकारकर्मी प्रेम ओझाको अध्यक्षतामा र पाँचथर जिल्ला समन्वय प्रमुख रामराज आङदेम्बको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।
कार्यक्रममा विभिन्न क्षेत्रका सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

