अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको आयोजनामा नेपाल मानव अधिकार बर्ष पुस्तक २०१९ को प्रकाशन पूर्व समीक्षा कार्यक्रम कात्तिक ३० गते मुस्ताङको सदरमुकाम जोमसोममा सम्पन्न गरिएको छ ।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभाका सांसद इन्द्रधारा दादु विष्टले मुस्ताङ जिल्लाका ग्रामीण भेगका जनतालाई मानव अधिकार सचेतनाको आवश्यकता रहेको बताए ।
जिल्लामा गम्भीर प्रकृतिका मानव अधिकार हनन्का घटना धेरै नभएपनि जनताहरू स्वास्थ, शिक्षा, रोजगार जस्ता मौलिक अधिकारबाट भने वञ्चित रहेको सांसद विष्टको भनाई थियो ।
नेपाल मानव अधिकार वर्ष पुस्तकमा ती अधिकारको बारेमा मुस्ताङी जनताको उपभोगको अवस्था भनेर पनि समेटिनुपर्ने विष्टले सुझाव दिए ।
प्रमुख जिल्ला अधिकार गङ्गाबहादुर क्षेत्रीले राज्य पुनर्संरचनाका कारण जनताले स्वास्थ जाँच गर्ने उपकरण हुँदाहुँदै पनि सेवाको उपभोग गर्न नपाएको भन्दै जनस्वास्थ कार्यालय तथा जिल्ला अस्पतालबीच समन्वय भएमा सो समस्या हट्ने बताए ।
क्षेत्रीले सेवा प्रदायक तथा सेवाग्राहीबीच मानव अधिकारप्रतिको बुझाईमा एकरूपता हुँदै गएमा मानव अधिकार हनन्का घटना न्यूनीकरण हुने भनाई राखे ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्र खड्काले मुस्ताङ जिल्लामा गम्भीर प्रकृतिका मानव अधिकार हनन्का घटना कम घट्ने गरेको र सन् २०१८ मा जिल्ला प्रहरी कार्यालय मुस्ताङमा महिला अधिकार अन्र्तगत बलात्कारसम्बन्धी एउटा घटनाको उजुरी दर्ता भएको जानकारी दिए ।
यस्तै जिल्लामा एकजना बालिका तथा दुई विदेशी महिला दुव्र्यवहारको घटनामा पीडित भएको जिल्ला प्रहरी कार्यालयमा उजुरी आएको खड्काले बताए ।
जिल्लामा हिरासतमा हाल थुनुवा शुन्य रहेको बताउँदै खड्काले मानव अधिकार उल्लङ्घन न्यूनीकरणका लागि आफूले कार्यालयमा समयसमयमा मानव अधिकारसम्बन्धी सचेतनाका कार्यक्रम सञ्चालन गरिरहेको बताए ।
घरपझोङ गाउँपालिकाका अध्यक्ष आशबहादुर थकालीले गाउँपालिकामा भएका समस्यालाई न्यूनीकरण गरी मानव अधिकारसम्बन्धी अभिमुखिकरणका कार्यक्रमहरू अघि बढाई गाउँपालिकालाई मानव अधिकारमैत्री बनाउनेमा प्रतिबद्धता व्यक्त गरे ।
नेपाल पत्रकार महासङ्घ, मुस्ताङ शाखाका अध्यक्ष सुन्दर थकालीले एयरलाइन्सको ब्यापारिक मानसिकताका कारण जिल्लाका सामान्य नागरिकले सहजै आवतजावत गर्न पाउने अधिकारबाट वञ्चित हुने गरेको बताए ।
जिल्लामा बजार अनुगमन फितलो हुने गरेकोले नागरिक उपभोक्ताको अधिकारबाट बिमुख रहेको थकालीको भनाई थियो ।
कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयका संयोजक शिव खकुरेलले इन्सेकले गण्डकी प्रदेशमा सञ्चालन गरिरहेका कार्यक्रमको बारेमा सहभागीलाई जानकारी गराउनुका साथै नेपाल मानव अधिकार वर्ष पुस्तकको बारेमा चर्चा गरेका थिए ।
समीक्षा कार्यक्रममा जिल्लाका सरोकारवाला निकाय तथा सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, गैरसरकारी निकायका प्रतिनिधि तथा सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।
इन्सेक गण्डकी प्रदेश कार्यालय, पोखरा