इन्सेक कपिलवस्तुको अयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक– २०२३ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम पुस ७ गते तौलिहवामा सम्पन्न भएको छ ।
कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि पार्वती आचार्यले जिल्लामा सन् २०२२ को जनवरीदेखि डिसेम्बरसम्म अभिलेख गरेका घटनाहरू प्रस्तुत गर्नु भएको थियो ।
जसमा परिवारजन र व्यक्ति हत्याका ६ , बलात्कार, बलात्कार प्रयास र यौन दुर्व्यवहार ४९, मानव बेचबिखन तथा ओसार पसारका चार, बहु बिवाह चार, बाल विवाह दुई , गोली प्रहार गरी आत्महत्या एक , आत्महत्या दुरुत्साहन एक , हत्या प्रयास एक, घरेलु हिंसाका २ सय ९६ ओटा गरी ३ सय ६४ ओटा घटना समेटिएको तथ्याङ्क प्रस्तुत गर्नु भएको थियो ।
जिल्ला समन्वय समितीका संयोजक बाबुराम आचार्यले इन्सेकको प्रतिवेदन र कार्यप्रति प्रशंसा गर्दै समन्वय समितीबाट हुने सहयोगमा प्रतिवद्धता जनाउनु भयो । जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरूमा सिटामोल नभएकोसमेत पाइएकोले स्थानीय सरकार र स्वास्थ्य क्षेत्रमा इन्सेकले निगरानी गर्न आवश्यक देखिएको सुझाव आचार्यले दिनु भयो ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले मानव अधिकार हनन भएको थाहा पाएमा जिल्ला प्रशासन कार्यालयमा सूचना दिन आग्रह गर्नु भयो ।
जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख थानेश्वर घिमिरेले विद्यार्थीहरुले पूर्णरुपमा पाठ्यपुस्तक नपाएको विषयमा इन्सेकले उठान गर्न सुझाव दिनुभयो ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी मिनबहादुर घलेले राज्यनै मानव अधिकारको मुख्य संरक्षक भएको भन्दै मानव अधिकार र मौलिक हकमा समावेश भएका अधिकारहरू नागरिकलाई उपलब्ध गराउनु राज्यको मुख्य दायित्व भएको बताउनु भयो ।
मानव अधिकार समूहका अध्यक्ष पुष्पा रेग्मीले मानव अधिकार उल्लंघनका घटनाहरू सत्यतथ्यको आधारमा हरेक वर्ष इन्सेकले वर्ष पुस्तकमा अभिलेखिकरण गर्दा राज्य पक्ष र गैरराज्य पक्षबाट हुने घटनालाई खबरदारी गर्दै आउनु आम नागरिहरूका लागि दस्तावेज रुपमा अनुभूति भइरहेको बताउनु भयो ।