INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) अर्घाखाँचीको आयोजनामा  नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्र्व वार्षिक समीक्षा कार्यक्रम पुस ३ गते सन्धिखर्कमा सम्पन्न भएको छ ।

समीक्षा कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि कूलबहादुर नेपालीले सन् २०२२ जनवरी देखि हालसम्म अभिलेख गरेका घटना बिवरण प्रस्तुत गर्नु भएको थियो ।

प्रस्तुत घटनामा  घरेलु हिंसा ३८ वटा,  बहुबिबाह ६ वटा, बलात्कार ६ वटा, यौन दुर्व्यवहार दुई वटा, आत्महत्या दूरुत्साहन तीन वटा, हत्या ६ वटा, बलात्कार  प्रयास चार वटा  र कुटपिट एउटा गरी ६४ वटा घटना रहेका छन् ।

जिल्ला समन्वय प्रमुख जीबनारायण कोइरालाले नेपाल मानव अधिकार वर्ष पुस्तक मानव अधिकारकालागि ऐना भएको बताउदै  मान अधिकार उल्लङ्घन र ज्यादतीका घटना स्थानीय स्तरमा पनि धेरै हुने भएकोले  स्थानीय तहको पनि सहभागितामा कार्यक्रम गरे थप प्रभाकारी हुने बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी शसिधर घिमिरेले मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको अभिलेखीकरण गरी सरोकारवालाहरू बिच छलफल गर्दा घटना न्यूनिकरण र कार्ययोजना कार्यान्वयन गर्ने आधार बन्ने बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर अर्जुन पौडेलले मानव अधिकारको पालना गर्न गराउन प्रहरीका सबै तालिममा मानव अधिकारको बिषयलाई राखेर छलफल गर्ने गरिएको बताउनु भयो ।

कार्यक्रममा सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि, पत्रकार र विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

अन्य

भिडियो