INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व समीक्षा गोष्ठी सम्पन्न

इन्सेक दार्चुलाको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक–२०१९ को प्रकाशन पूर्व समीक्षा गोष्ठी दार्चुलामा कात्तिक २९ गते सम्पन्न गरिएको छ । उक्त अवसरमा सन् २०१८ को जनवरीदेखि हालसम्म सङ्कलन गरिएका घटनाको समीक्षा गरिएको हो ।

इन्सेक जिल्ला प्रतिनिधि नरेन्द्रसिंह कार्कीले जिल्लामा सङ्कलन गरिएका घटनाहरू प्रस्तुत गरेका थिए । प्रस्तुत गरिएका घटनामध्ये बलात्कारका दुई, बलात्कार प्रयासका दुई, यौन दुव्र्यवहारको एक, ज्यानसम्बन्धी कसुर तीन, कर्तव्य ज्यान एक, बहुविवाहका तीन र सरकारी सम्पत्तिमा क्षति एक गरी जम्मा ३२ ओटा रहेका छन् ।

सुदूरपश्चिम प्रदेश सभा सदस्य गेल्बुसिंह बोहराले शिक्षा अभावले पनि घरेलु हिंसाका घटना बढेको बताए । ‘महिलामाथि हुने विभेद क्षम्य हुँदैन् । यो सम्वदेनशील विषय हो । तर, यसको लागि चेतना आवश्यक छ ।’–उनले भने ।

प्रदेश सभाका अर्का सदस्य मानबहादुर धामीले हरेक क्षेत्रमा जनचेतनामूलक शिक्षा आवश्यक रहेको बताए । ‘अहिले न्याय निरूपण गर्ने स्थानीय तहहरू छन् । मानव अधिकारको विषय हरेक स्थानीय तहसम्म पुग्नु पर्छ । सचेतना बिना परिवर्तन सम्भव छैन ।’–उनले भने ।

इन्सेककै तथ्याङ्कले अहिले सरकारले आफ्नो धारणा र कार्यक्रम बनाउन बाध्य भएको बताउँदै उनले मानव अधिकारको रक्षाको लागि इन्सेकको भूमिका नकार्न नसकिने धारणा राखेका थिए ।

प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले जिल्लामा आत्महत्या र महिला हिंसाका घटना भयवाह अवस्थामा रहेको बताए । यसले हाम्रो समाज कता जाँदैछ ? भन्ने कुरो देखाएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए । घरेलु हिंसा न्यूनीकरणको लागि मदिरा निषेध र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु एक मात्र विकल्प भएको उनले धारणा राखेका थिए ।

जिल्ला प्रहरी कार्यालय, दार्चुलाका डिएसपी नवराज अधिकारीले जिल्ला प्रहरी कार्यालयको महिला सेलसम्म आउने अधिकांश घरेलु हिंसामा मदिरा कारक भएको बताए । सबै ठाउँमा पाइने मदिराको कारण घरेलु हिंसामा बृद्धि भएको उनले बताए ।

‘बिहान पतिको नाममा उजुरी गर्छन् । बेलुकी हैन गल्ती ग¥यो छोडिदिनुप¥यो भनेर उनै महिला आउँछन् । जसको कारण घरेलु हिंसाका घट्नामा मुद्दा दर्ता हुन अप्ठेरो छ ।’–डिएसपी अधिकारीले भने ।

कार्यक्रममा अन्तरपार्टी महिला सञ्जालकी अध्यक्ष हिरा अवस्थीले जबसम्म जिल्लामा मदिरा निषेध गर्न सकिँदैन तबसम्म महिलामाथि हुने हिंसामा कमी नआउने बताइन् ।

‘हामीले विगतदेखि हरेक क्षेत्रमा जिल्लामा मदिरा निषेधको आवाज उठाएका छौँ । तर, कसैले सुनेको छैन् ।’–उनले भनिन् ।

नरेन्द्रसिह कार्की

अन्य

भिडियो