अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम असार १ गते रघुगङ्गा गाउँपालिकाको मौवाफाँटमा सम्पन्न गरेको छ ।
समीक्षामा बोल्दै रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले इन्सेकले ग्रामीण भेकसम्मै आएर समीक्षा गर्नु सकारात्मक भएको बताउनुभयो ।
गाउँपालिका अध्यक्ष भण्डारीले मानव अधिकारको प्रत्याभूति हुने गरी काम गर्न आफूहरू प्रतिबद्ध रहेको बताउनु भयो ।
कुनै पनि कार्यक्रमहरू केन्द्रीकृत नभएर विकेन्द्रीत हुनु पर्ने बताउँदै इन्सेकले त्यसका लागि प्रयास गरेकोमा खुशी व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा उपाध्यक्ष प्रेमकुमारी पुनले महिलाको अधिकारलाई इन्सेकले लक्षित गरेको बताउँदै सबैको अधिकार समेट्दै अगाडि बढ्नु पर्नेमा जोड दिनुभएको थियो । इन्सेक जस्ता सामाजिक सङ्घसंस्थाले विकेन्द्रीत भएर काम गर्नु पर्ने उहाँको भनाइ थियो ।
रघुगङ्गा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले मानव अधिकार रक्षाका लागि सबैले हातेमालो गर्नु पर्नेमा जोड दिनुभएको थियो ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका असइ दुर्गा अधिकारीले आत्महत्या, बाल बिबाह, बहुविवाह तथा बलात्कार जस्ता घटनाले महिला तथा बालबालिकाहरूको अधिकार हनन् गरेकोले त्यसतर्फ सचेत हुनु पर्ने बताउनु भयो ।
उहाँले यस्ता घटनामा कानुनी कारवाही तथा यसबाट बच्नका लागि समुदाय स्तरसम्मै भूमिका रहने बताउनुभयो ।
कार्यक्रममा इन्सेक म्याग्दी प्रतिनिधिले २०२३ को जनावरीदेखि अभिलेख गरेका १० ओटा घटनाहरू प्रस्तुत गर्नुभएको थियो ।
