नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि जिल्लामा अभिलेख गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि असार ३१ गते सरोकारवालाबिच समीक्षा गरिएको छ ।
नेपाल मानव अधिकार वर्ष पुस्तकका लागि इन्सेक प्रतिनिधिले जिल्लामा सन् २०२१ को ६ महिनाको अवधिमा अभिलेखीकरण गरेका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि सरोकारवालाबिच समीक्षा गरिएको हो । समीक्षा कार्यक्रममा बोल्दै जिल्ला अदालत सोलुखुम्बुबाट समाजसेवीमा नियुक्त भइ काम गरिरहनु भएका समन्वय समिति सदस्य दाडोमा शेर्पाले बालबालिका अधिकारको अधिकार रक्षाका लागि अधिकारकर्मी अझ बढी सक्रिय हुनुपर्ने सुझाव बताउनु भयो ।
नेपाल मानव अधिकार सङ्गठन सोलुखुम्बुका कार्यवहाक सभापति हिमाल गिरीले इन्सेकले मानवअधिकारको क्षेत्रमा पुर्याएको योगदानको उच्च कदर गर्दै समन्वय र सहकार्य गरी मानव अधिकार रक्षाका लागि काम गर्ने बताउनु भयो । सम्पन्न सञ्चार प्रालिका अध्यक्ष पीटी लोप्चनले मावन अधिकारको क्षेत्रमा काम गर्नेहरूबिच एकता आवश्यकता रहेको बताउनु भयो ।
सहायक प्रमुख जिल्ला अधिकारी उर्मिला खतिवडाले इन्सेकले मानव अधिकारको क्षेत्रमा खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो । नेपाल पत्रकार महासङ्घ सोलुखुम्बुका अध्यक्ष नुतन श्रेष्ठले मावन अधिकार संरक्षणको अभियानमा इन्सेकलाई सहयोग सबैले साझा अभियानमार्फत सहयोग गर्न आवश्यक रहेको बताउनु भयो ।
समीक्षामा जिल्लामा सन् २०२१ को ६ महिनाको अवधिमा २८ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना अभिलेख भएको प्रतिवेदन इन्सेक जिल्ला प्रतिनिधिले प्रस्तुत गर्नु भएको थियो । बलात्कार र बलात्कार प्रयासका १० ओटा, यौन दुर्व्यवहार तीन ओटा, घरेलु हिंसाका ७ ओटा र कुटपिट तथा धम्कीको ६ ओटा, आत्महत्या दुरूत्साहनका एक ओटा र हत्याको एक ओटा घटना जिल्लामा अभिलेखीकरण गरिएको छ । सन् २०२० को तुलनामा सन् २०२१ को ६ महिनाको अवधिमा जिल्लामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा वृद्धि भएको इन्सेकको अभिलेखले देखाएको छ । सन् २०२० मा एक वर्षको अवधिमा ३० ओटा घटना अभिलेखीकरण गरिएकोमा सन् २०२१ को ६ महिनाको अवधिमा २८ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना इन्सेक अभिलेख गरेको छ ।
इन्सेक अभिलेखका आधारमा सन् २०२० को एक वर्षको अवधिमा बलात्कार र बलात्कार प्रयासका नौ ओटा घटना अभिलेखीकरण गरिएकोमा सन् २०२१ को पहिलो ६ महिनाको अवधिमा १० ओटा यौनजन्य घटना अभिलेखीकरण गरिएको छ ।
