INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनुषाको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम असार २९ गते सम्पन्न गरिएको छ ।

सन् २०२१ जनवरीदेखि जुनसम्मको अवधिमा इन्सेक धनुषा प्रतिनिधि दिपेन्द्र प्रसाद सिंहले जिल्लामा अभिलेखिकरण गर्नुभएका घटनाहरूको समीक्षा गरिएको हो ।

जिल्लामा यो अवधिमा ४९ ओटा मानव अधिकार उल्लङ्घनका घटना अभिलेख गरिएको इन्सेक धनुषा प्रतिनिधि सिंहले प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । यो अवधिमा बलात्कारका घटना बढी भएको प्रतिवेदनमा उल्लेख छ ।

जिल्लामा अभिलेखित घटनामध्ये १० जना महिला र ११ जना बालिका बलात्कार घटनामा पीडित भएका छन् ।

तीन जना महिला र दुई जना पुरुषको हत्या भएको प्रतिवेदनमा उल्लेख छ । कुटपिट घटनामा चार जना, हिरासतमा यातनाका घटनामा दुई जना, यौन दुर्व्यवहारका घटनामा चार जना, अज्ञात पक्षद्वारा एक विद्यालयमा आगजनी, बेचविखन तथा ओसारपोसारको घटनामा एक जना पीडित भएका उल्लेख छ ।

यो अवधिमा एक जना बालकलाई अपहरण गरी हत्या गरेको र बहुविवाहका घटनामा चार जना महिला पीडित भएका अभिलेख गरिएको प्रतिवेदनमा उल्लेख छ ।

कार्यक्रममा एड्भोकेसी फोरम नेपाल प्रदेश २ का संयोजक राजकुमार महासेठले मानव अधिकार उल्लङ्घनका घटनाको अनुगमन गर्दा अभियन्ता भावनामा बग्दै आएकाले विश्वसनीयतामा असर पर्ने गरेको बताउनु भयो ।

नेपाल बार एशोसिएशन जनकपुरका निवर्तमान अध्यक्ष रामनेक साहले इन्सेकले जिल्ला जिल्लामा मानव अधिकार उल्लघङ्नका घटनाहरू सङ्कलन गरेर अभिलेखिकरण, समीक्षा र सार्वजानिक गर्ने गरेकाले मानव अधिकार संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याएको बताउनु भयो ।

इन्सेकलगायत मानव अधिकारका क्षेत्रमा क्रियाशील सङ्घसंस्थाहरूले जनचेतना फैलाउने, घटनाको अनुगमन गर्ने, सही तथ्य सङ्कलन गर्ने लगायतको काम गर्दै आएको उहाँले बताउनु भयो ।

इन्सेक प्रदेश २ प्रमुख राजु पासवानले वर्षेनी जिल्ला जिल्लामा घटेका मानव अधिकार उल्लङ्घनका घटनाहरुलाई केलाएर इन्सेकले नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन गर्दै आएको बताउनु भयो ।

जिल्लामा घटेका घटनाको सङ्ख्या, पीडितको अवस्था, अनुसन्धानको क्रममा भएका गतिविधि र अदालतले गरेको फैसलाबारे जिल्ला प्रतिनिधिहरूले नियालेर घटना ल्याउने गरेकाले यो कार्यले घटनाको सही, तथ्या र वस्तुपरकमा स्पष्टता थपिँदै आएको बताउनु भयो ।

राष्ट्रिय मानव अधिकार आयोग प्रदेश २ का मानव अधिकार अधिकृत मनमाया राना मगरले धनुषालगायत प्रदेश २ मा महिला, बालबालिका, ज्येष्ठ नागरिकलगायतका जातीय विभेदको घटनाहरू अन्य प्रदेश भन्दा बढी हुने गरेको बताउनु भयो ।

हामीले विभिन्न घटनाहरूमा इन्सेकलगायतको मानव अधिकारको क्षेत्रमा कार्यरत सङ्घसंस्थाहरुको समन्वयमा काम गर्दै आएकाले आगामी दिनमा समन्वय र सहकार्यलाई निरन्तरता दिने बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय धनुषाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका हवल्दार किशोरीप्रसाद यादवले धनुषामा अझै जनचेतनाको कमी रहेको बताउनु भयो ।

उहाँले यहाँ दैनिक जसो बालविवाह, बहुविवाह, कुटपिट, झैझगडा लगायतका घटना आउने गरेकाले विभिन्न सङ्घसंस्थाहरूले जनचेतना फैलाउने काम गर्दै आएको भएपनि अझै पनि ग्रामीण तहसम्ममा जनचेतनाको कमी नै रहेको बताउनु भयो ।

एनपिआई प्रदेश २ संयोजक विनोद महराले मानव अधिकारको अवस्था र घटनाहरू सङ्कलन गरेर इन्सेकले वर्षेनी मानव अधिकार वर्ष पुस्तक नै प्रकाशन गर्नु निकै सराहनीय र उदाहरणीय काम भएको बताउनु भयो ।

समता फाउण्डेशनका प्रदेश अधिकृत रामपुकार महराले इन्सेकले समग्रमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरू सङ्कलन गरेर अभिलेखिकरण गर्दै आउनु निकै राम्रो पक्ष भएको बताउनु भयो ।

उहाँले इन्सेककै यो वर्ष पुस्तक प्रकाशनबाट अभिप्रेरित भएर समता फाउण्डेशनले आउने वर्षमा दलित मानव अधिकार वर्ष पुस्तक प्रकाशन गर्न लागेकोसमेत बताउनु भयो ।

ओरेक नेपाल धनुषाका परियोजना संयोजक रोजलिन सिंह बछारले समाजमा महिलाहरूको हत्या नौलो तरिकाले हुँदा  आएकाले अधिकारकर्मीहरू सचेत हुन जरूरी रहेको बताउनु भयो ।

निलहिरा समाजका प्रदिप यादवले यौनिक अल्पसङ्ख्यकहरूमाथि घटनाहरू भइरहेको भएपनि दस्तावेजीकरण हुन नसकेको बताउनु भयो ।

photo20210714dhanusha (1)

photo20210714dhanusha (2)

photo20210714dhanusha (3)

अन्य

भिडियो