INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूमाथि पुस ८ गते समीक्षा गरिएको छ ।

समीक्षाले जिल्लामा पछिल्लो एक वर्षमा बलात्कारका घटना बढेको देखाएको छ । इन्सेकले पुस ८ गते गाईघाटमा आयोजना गरेको समीक्षा कार्यक्रममा मानव अधिकारसँग सम्बन्धित १ सय ६ ओटा घटना मध्ये ६० ओटा घटना बलात्कारका भएको उल्लेख छ ।

बाल अधिकार अन्तरगत ३८ ओटा घटना बलात्कारका भएको इन्सेकले अभिलेख गरेको छ । महिला अधिकार अन्तरगत महिला बलात्कारका घटना २२ ओटा, बहुविवाहका १५ ओटा, घरेलुहिंसाका १२ ओटा, हत्या र हत्याको प्रयास ९ ओटा, अवैद्य गर्भपतनका एक ओटा, पत्रकारमाथि दुर्व्यवहार एक ओटा, राज्यपक्षबाट कुटपिट एक ओटा, बमविस्फोटका तीन ओटा घटना, बालबिवाहका दुई ओटा घटना भएको इन्सेकले जनाएको छ ।

समीक्षा कार्यक्रम प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले प्रहरी, प्रशासनमा आएका घटनालाई अभिलेखीकरणसँगै जिल्लाका विकास निर्माण, शिक्षा, स्वास्थ्य, रोजगारका सवाललाईसमेत मानवअधिकारसँग जोडेर तथ्यांकहरू सार्वजनिक गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले कोभिड १९ ले पारेको असर, शिक्षा, स्वास्थ्यमा भएको समस्या, निषेधाज्ञामा जनताले भोगेका समस्यालाईसमेत उजागर गर्न सके राज्यलाई जिम्मेवार बनाउन सकिने बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालयका एसपी भीमबहादुर दाहालले प्रभावकारी कानुन कार्यान्वनकै कारण मानव अधिकारसँग जोडिएका घटनाहरू बाहिर आउन सहज भएको बताउनु भयो ।

जिल्ला अदालतका श्रेस्तेदार धनबहादुर कार्कीले तथ्यांकले कानुन कार्यान्वयन र अदालती प्रक्रियालाई नै सहज भएको बताउनु भयो ।

गैसस महासंघ केन्द्रीय सल्लाहकार सृजना दनुवारले इन्सेकका दस्तावेजका कारण विगतमा भएका जघन्य अपराधका घटनाका दोषीलाई कारवाही गर्न सहज भएको बताउनु भयो ।

नेपाल पत्रकार महासंघ प्रदेश सचिव हरिकुमार राईले मानव अधिकार संरक्षण र सम्र्बद्धन गर्न सबै एकजुट हुनु पर्ने बताउनुभयो ।

महिला अधिकारकर्मी नजवुल खानले बलात्कारजस्ता जघन्य अपराधलाई सकेसम्म गाउँघरमा नै मिलाउने प्रयास गर्नु कानुनी कारवाहीका लागि गर्नु मुख्य चुनौती भएको बताउनु भयो ।

पत्रकार भक्तिविलास पोखरेलले नागरिकलाई सचेत र जिम्वेवार बनाउन सके त्यति नै मानव अधिकार उल्लंघनका घटना बाहिर आउने र न्यूनीकरणमासमेत सहज हुने बताउनु भयो ।

Photo 20201223 YB udayapur (1) Photo 20201223 YB udayapur (2) Photo 20201223 YB udayapur (3) Photo 20201223 YB udayapur (4)

अन्य

भिडियो