INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व समीक्षा

इन्सेक सल्यानको आयोजनामा मङ्सिर २५ गते सदरमुकाम खलंगामा नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२१ को प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।

इन्सेक जिल्ला प्रतिनिधि मिना बुढाथोकीले २०२० जनवरीदेखि नोभेम्बरसम्म सङ्कलन गरिएका घटनाहरू प्रस्तुत गर्नु भएको थियो ।

यस अवधिमा ५६वटा घटना अभिलेख गरिएका छन् । जसमा १ सय ८७ महिला र ७१ बालबालिका पीडित भएका छन । जसमध्ये महिला अधिकारका २२ वटा, भौतिक संरचना क्षतीका ४ वटा, नागरिक तथा सामाजिक अधिकारका ४ वटा र नागरिक अधिकारका २ वटा रहेका छन् ।

वर्षभरीको तथ्यांकलाई हेर्दा बलात्कारका घटना धेरै भएको बुढाथोकीले जानकारी दिनुभयो । जसअनुसार जिल्लामा २४ वटा बालिका तथा महिला बलात्कारका घटना घटेका छन् ।

जिल्ला न्यायाधीवक्ता भिमसेन काफ्लेले मानवअधिकार हनन को घटनाका कारक तत्व पत्ता लाई जनचेतना जगाउन आवश्यक रहेको बताउनुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काले न्यायिक प्रक्रिया पछि पनि पीडितलाई सामाजिक पुनर्मिलनको लागि निरन्तर फलोअप हुनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा डिएसपी गोविन्द थापाले प्रहरीले मानव अधिकार हनन नहुने गरी काम गरिरहेको जिकिर गर्नुभयो । स्थानीय तहमा भएका न्यायिक निकायलाई अझै प्रभावकारी र विश्वसनीय बनाउने हो भने यस्ता घटना अझै कम हुने उहाँको भनाई थियो ।

नेपाल बार एसोसिएशन सल्यानका अध्यक्ष लाल बहादुर रावतले कानुनी प्रकृया झन्झटिलो भएकोले यसलाई अझै छिटो छरितो बनाएमा पीडितलाई छिटो न्यायको अनुभूति हुने बताउनु भयो ।

यस्तै महिला मानव अधिकार रक्षक सञ्जालका अध्यक्ष सोवित बस्नेतले मानव अधिकार को रक्षाको लागि इन्सेकले जिल्लामा प्रशंसनीय भूमिका खेलेको बताउनु भयो ।

कार्यक्रमको सञ्चालन इन्सेकको इएलपी परियोजनाका सहजकर्ता रामचन्द्र रेग्मीले गर्नु भएको थियो ।

salyan 20201211

अन्य

भिडियो