नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० प्रकाशन पूर्व जिल्लामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका सङ्कलित घटनाहरू माथि सरोकारवालाहरू बीच पुस १५ गते समीक्षा सम्पन्न भएको छ ।
समीक्षा कार्यक्रममा बोल्दै जिल्लामा मानव अधिकार उल्लङ्घन तथा हननका घटनाहरू न्यूनीकरणका लागि आफू कटिबद्ध भएर लागि परेको प्रमुख जिल्ला अधिकारी डाक्टर कृष्णबहादुर घिमिरेले बताउनु भयो । प्रजिअ घिमिरेले धनकुटामा सकेसम्म घटना हुन नदिने र यदि भएमा सरोकारवाला निकायहरूसँग एकआपसमा सम्पर्क समन्वय गरेर अघि बढ्ने बताउनु भयो ।
मानव अधिकार र सामाजिक न्यायका निम्ति काम गर्दै आएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले धनकुटामा सन २०१९ को जनवरीदेखि डिसेम्बरसम्म अभिलेख गरेका घटनाहरू वार्षिक समीक्षा कार्यक्रम मार्फत सार्वजानिक गरिएको छ ।
जसमा हत्याका घटना ४ ओटा कुटपिटका घटना १ ओटा, हत्या प्रयासका घटना २ ओटा, घरेलु हिंसा तथा बहुविवाहका घटना १ ओटा, बलात्कारका घटना ७ ओटा, बलात्कार प्रयासका घटना ४ ओटा, नागरिक तथा राजनीतिक अधिकारका घटना २ ओटा रहेको इन्सेक प्रतिनिधि इश्वर थापाले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सुदर्शनप्रसाद कोइरालाले मानव अधिकार संरक्षणका लागि आफूहरू सधैँ सचेत रहेको बताउनुभयो । उहाँले इन्सेकले मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनालाई विश्लेष्ण गरी नेपालको मानव अधिकार अवस्थाका दस्ताबेजका रूपमा वर्ष पुस्तक प्रकाशन गर्नु सहृानीय भएको बताउनुभयो ।
