नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० मा समेटिने घटनाका विषयमा जिल्लामा वार्षिक समीक्षा सम्पन्न भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र( इन्सेक) संखुवासभाको आयोजनामा पुस ५ गते सरोकारवालाहरूको उपस्थितीमा समीक्षा सम्पन्न भएको हो ।
समीक्षा कार्यक्रममा आफ्नो विचार राख्ने क्रममा जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्यले इन्सेकले विगतदेखि मानव अधिकारको घटनाहरूको सङ्कलन गरी वर्ष पुस्तकमार्फत नेपालको मानव अधिकारको अवस्था प्रस्तुत गर्ने काम गरेको बताउनुभयो । उहाँले नागरिकका अधिकार तथा राजनीतिक अधिकार,आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका विषयमा समेत प्रतिवेदनमा उल्लेख गरिएको भन्दै बनेका कानून कार्यान्वयनमा जोड दिनुभयो । पहुँच नभएका पछाडि पारिएका नागरिकहरूको आवाज पनि मानव अधिकारकर्मीले उठाउनु पर्ने भन्दै वर्ष पुस्तकमा समावेश गर्न सुझाव दिनुभयो ।
खाँदबारी नगरपालिका न्यायिक समिति संयोजक डेगेश्वरी श्रेष्ठले इन्सेकले देशव्यापी रूपमा गरिरहेको मानव अधिकारको अनुगमन र प्रलेख कार्य उदाहारणीय भएको बताउनुभयो ।
सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरेले मानव अधिकारको विषयवस्तु गहन भएकाले सबै नागरिक सम्मानित र स्वतन्त्र र मर्यादित रूपमा बाँच्न पाउनु मात्रै नभइ स्वच्छ वातावारणमा बस्न पाउनु, विकासको अधिकार अनुभूति गर्न पनि मानव अधिकार भएको बताउनुभयो । उहाँले वर्ष पुस्तक मानव अधिकारको दस्तावेज भएकोले यसमा प्रकाशन हुने कुरा सत्यतथ्य हुनु पर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी मिमबहादुर लामाले इन्सेकले प्रकाशन गर्ने बर्षपुस्तक एउटा दस्तावेजको रूपमा रहने हुँदा घटनाहरू प्रकाशन गर्दा सतहमा रहेर नभई अनुसन्धान गरी प्रकाशन गर्नुपर्ने सुझाव दिए ।
नेपाल पत्रकार महासङ्घ सङ्खुवासभा शाखाका अध्यक्ष इन्द्र गिरीले इन्सेकले घटनाहरूको अभिलेख राख्ने भएकाले तुलनात्मक अध्ययन गर्न सहज भएको बताउनुभयो । उहाँले इन्सेकले नियमित प्रकाशन गर्ने नेपाल मानव अधिकार वर्षपुस्तकको निरन्तर प्रयास र खबरदारीले मानव अधिकारको क्षेत्रमा समाजको प्रष्ट चित्रण गरेको बताउँदै बदलिदो परिस्थिति अनुसार इन्सेक अगाडि बढ्नुपर्ने बताउनुभयो ।
समीक्षा कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधिले एक वर्षको अवधिमा आठ बालिकालाई यौन दुव्र्यवहार, भएको, चार जना महिला बलात्कारमा परेको,पाँच नागरिकको हत्या भएको , एक ओटा मानव वेचविखनको घटना गरी जिल्लामा एक वर्षको अवधिमा २३ वटा मानव अधिकार उल्लङघनका घटना भएको तथ्याङ्क प्रस्तुत गरेका थिए ।