INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को प्रकाशन पुर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जुम्लाको आयोजनामा पुस २ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० का लागि सङ्कलित घटनाहरूको प्रकाशन पुर्व वार्षिक समीक्षा कार्यक्रम खलङ्गामा सम्पन्न भएको छ ।

सन् २०१९ भरी सङ्कलित मानव अधिकार हनन् र ज्यादतीका घटनाहरू थप पुष्टि गर्ने र छुटेका घटना समावेश गर्ने उद्देश्यले आयोजित कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि मानदत्त रावलले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै सङ्कलित घटना विवरण सहभागी माझ प्रस्तुत गरेका थिए ।

जुम्लामा यस वर्ष २२ ओटा मानव अधिकार हनन् र ज्यादतीका घटना घटेको जिल्ला प्रतिनिधि रावलले बताउनुभयो ।

जसमध्ये कुटपिटका दुई ओटा, गिरफ्तारका दुई ओटा, बाल अधिकार हनन्का तीनओटा, महिला अधिकार हनन्सम्बन्धी १४ ओटा र सम्पत्ति क्षतिसम्बन्धी एकओटा घटना रहेका छन् ।

कार्यक्रममा जिल्ला समन्वय समिति, जुम्लाका उपप्रमुख कार्मा बुढाले वर्ष पुस्तक भविष्यका लागि सम्पत्तिको रूपमा रहने बताउनुभयो ।

जिल्लामा रहेको विमान स्थलमा बिरामीले समयमा हवाई टिकट नपाउँदा ठुलो समस्या रहेको बताउँदै उपप्रमुख बुढाले यस्ता घटना पनि वर्ष पुस्तकमा समावेश गर्न आवश्यक रहेको सुझाव दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय, जुम्लाका डिएसपी लालबहादुर धामीले जिल्लाका होटलहरूमा बालबालिका श्रमिक रहेकाले शिक्षा तथा श्रमशोषण भइरहेको बताउनुभयो ।

डिएसपी धामीले जुम्लाका बालविवाह धेरै हुने गरेको भएपनि उजुरी कम नै आउने गरेको बताउनुभयो ।

बाल अधिकारका विषयमा स्थानीय तहदेखि राजनीतिक दल र सरोकारवाला निकायले बढी सचेतीकरण गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

कार्यक्रममा जिल्लामा राजनीति र धर्मको नाममा केही विद्यालयमा बालबालिकाहरूको शिक्षा प्रभावित भएको विषयलाई पनि पुस्तकमा समेट्न सहभागीहरूले जोड दिनुभएको थियो ।

Photo20191219Jumla01

Photo20191219Jumla02

Photo20191219Jumla03

Photo20191219Jumla04

Photo20191219Jumla05

अन्य

भिडियो